सुर्खेत । वर्षौदेखि श्रमिकहरुको जीवन कष्टकर मात्रै होइन, असुरक्षित समेत रहेको छ। दैनिक ज्यालादारीदेखि ठूला उद्योग र प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुको भविष्य अन्धकार छ । श्रमिक र रोजगारदाताबीचको असल सम्बन्ध सन्तुलन पनि हुन सकेको स्थिति छैन्।
स्थानीय तहमा जीविकोपार्जन गर्ने अनौपचारिक र स्वरोजगार व्यक्तिहरुको समस्या उस्तै छ। सामाजिक तथा आर्थिक जोखिममा रहेका नागरिकलाई सुरक्षा प्रदान गर्न हेतु राज्य र नागरिकको सहकार्यमा गरिने कार्य सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको वर्षौ बित्यो।
पछिल्लो चरणमा योजना कार्यान्वयनका लागि सरकार, रोजगारदाता र श्रमिकहरु उत्साहित भएका छन्। सुर्खेतमा आएका कोषका निर्देशक उत्तमराज नेपालले सुर्खेतको वस्तुस्थिति र बजार क्षेत्रलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा योजनालाई सञ्चालन गर्न त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए।

सोही योजना अनुसार सामाजिक सुरक्षा कोष र कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि सम्झौता भएको छ।
कोषका निर्देशक नेपाल र चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीबीच उक्त योजना सञ्चालनका लागि सम्झौता भएको हो। यस कार्यक्रममा सहभागी भएबापत नागरिकले जीवनभर विभिन्न खालका आर्थिक र सामाजिक सुरक्षा प्राप्त गर्न सक्नेछन्।


योजना अन्तरगत गर्भावस्था हुँदा स्वास्थ्योपचार, मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई आर्थिक सुरक्षा, अवकाशप्राप्त हुँदा भत्ताको व्यवस्था, कर्जाको सुविधा, वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त गर्नेछन्।
त्यसैगरी देउती नर्सिङ्ग होम प्राइभेट लिमिटेड वीरेन्द्रनगर, सुर्खेत र कोष बीच पनि कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा योजना सञ्चालनका लागि सम्झौता भएको छ।
निर्देशक नेपालले सुर्खेत बसाइँको क्रममा, विभिन्न पालिकाका प्रमुखहरु, होटल नमस्ते नेपाल, कोपिला भ्याली स्कूल, कर्णाली केयर हस्पिटल लगायतका क्षेत्रहरुमा भेटघाट र छलफल समेत गरेका छन्।

नेपाल कर्म । ३ पुष २०८०, मंगलवार १३:५४