सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको कालिन्चोक क्रिकेट मैदानको निर्माण कार्य शुभराम्भ भएको छ। सोमबार (पुष–२) गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उक्त क्रिकेट मैदानको शुभराम्भ गरेका हुन्।
मुख्यमन्त्री शर्माले क्रिकेट मैदान निर्माणको शुभारम्भ गर्दै २०८१ साल बैशाखमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमा गराउनका लागि सरकार तयार रहेको बताए। उनले भने, ‘कर्णाली खेल क्षेत्रमा अघि बढ्दै छ। हामी त्यसको लागि तयारी तिब्र पार्दै छौ। १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले हिजोभन्दा फरक नतिजा ल्याउनेछ।’


मुख्यमन्त्री शर्माले सरकार यतिबेला प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको उल्लेख गरे।
साथै उनले रङ्गशाला निर्माणको काम सँगसागै कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गर्नतर्फ ध्यान दिने, निर्माण कार्य शुभारम्भ भएको कालिन्चोक क्रिकेट मैदानलाई तोकिएको समय भित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने दाबी गरे।

यस्तै, क्रिकेट मैदान निर्माणका लागि अनुमानित लागत ९८ लाख रहेको छ। तर, ७३ लाख १८ हजार ३३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको छ।
उक्त निर्माण सम्झौता २०८१ बैशाख सम्म राखिएको छ।
निर्माण हुने उक्त क्रिकेट मैदानको ३ लेनको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्याण्ड स्केप गरी हरियाली गर्ने लगायतका काम हुनेछन्।
निर्माणको जिम्मा केपीडीडी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ।
यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्याले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि ५ ‘प’को निति तथा कार्यक्रम साँच्चिकै कार्यन्वयन हुँदै जाने भने अब आउने ९० को दशक नेपालको सबै खेलहरुमा कर्णालीका बर्चश्व हुने विश्वास व्यक्त गरे।

नेपाल कर्म । ३ पुष २०८०, मंगलवार १३:१०