कर्णालीका कृषि अनुसन्धान केन्द्रहरु अर्गानिक उत्पादनमा केन्द्रित

सुर्खेत । कर्णालीका कृषि अनुसन्धान केन्द्रहरु अर्गानिक उत्पादन तथा अनुसन्धानमा केन्द्रित भएका छन्। कर्णाली अर्गानिक प्रदेशको मोडल कार्यान्वयन प्रक्रिया सुरु भएसँगै जुम्ला, दैलेख, सुर्खेत र सल्यानमा रहेका कृषि अनुसन्धान केन्द्र तथा कृषिसँग सम्बन्धित यहाँका कार्यालयहरु अर्गानिक उत्पादन तथा अनुसन्धानमा केन्द्रित भएका हुन्।



कृषि तथा पशुपंक्षी जन्य वस्तुको क्षेत्रमा गरिरहेको अनुसन्धान तथा उत्पादनलाई पूर्णरुपमा अर्गानिकमय बनाउन यहाँका कृषि अनुसन्धान केन्द्रहरु लागिपरेका छन्। कृषि तथा पशुपंक्षी जन्य वस्तुको उन्नत जात अनुसन्धान, त्यसलाई आम कृषकमाझ सिफारीसदेखि उत्पादन कार्यमा भएका समस्या र आगामी योजनाको बारेमा बहस सुरु भएको हो।

                                                                   प्राङ्गारीक अनुसन्धान केन्द्र स्थापनाका लागि प्रस्ताव गरिएको कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरको खेतियोग्य जग्गा।

कर्णालीका कृषि प्राविधिकहरुले अर्गानिक उत्पादनमा विद्यमान समस्या र समाधानको विकल्पका बारेमा समेत छलफल गरेका छन्। कृषि अनुसन्धान निर्देशनालय, दशरथपुर सुर्खेतको आयोजनामा सम्पन्न प्रादेशिक कृषि प्राविधिक कार्यशाला गोष्ठिका अवसरमा बिषादी रहित उत्पादन तथा अर्गानिक मोडल कार्यान्वयनबारे समिक्षा भएको थियो।

छलफलपछि कर्णालीका कृषि विज्ञ तथा प्राविधिकहरुले अर्गानिक उत्पादन र बजारीकरणमा जोडदिने निश्कर्ष निकालेका हुन्। कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देवनिधि तिवारीले कृषि तथा फलफुल बालीमा अनुसन्धान जारी रहेको भन्दै अब प्रांगारीक अनुसन्धानमा जोड दिने बताउनुभयो।

यता कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम बहादुर रानाले कर्णालीका सबै जिल्लामा कृषि तथा फलफुल उत्पादनमा नयाँ रोगकिराको प्रकोप बढेको भन्दै सुर्खेतमा धान, गोलभेडा र सुन्तलामा बढी समस्या देखिएको बताउनुभयो।

सुर्खेतको दशरथपुरमा प्रांगारीक अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानको काम थाल्नेगरी डीपीआर समेत तयार गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायत बताउनुहुन्छ। ‘कर्णालीमा हाल अर्गानिक उत्पादनमा विभिन्न रोगकिराको प्रकोप र जोखिम छ’ उहाँले भन्नुभयो, ‘तर यसको विकल्पमा प्रांगारीक मल, बीउ र औषधि उत्पादन तथा खेती प्रविधिको विस्तार गर्ने प्रयास भइरहेको छ।’

कृषि मन्त्रालयका सचिव डा। नरहरिप्रसाद घिमिरेले कर्णालीलाई स्याउ, सुन्तला, अदुवा र तरकारी बालीबाटै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा प्रांगारीक खेती प्रविधि अपनाइने बताउनुभयो । तरकारी खेतिप्रति कर्णालीका कृषकको आकर्षण बढेकोले प्रदेश सरकारले यसमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ।

प्रदेश सरकारका कृषि मन्त्री भिमप्रकाश शर्माले कर्णालीका भर्जिन क्षेत्रमा बिषादी निषेध गर्न निर्देशन दिनुभयो। तर, बिषादी प्रयोग भइरहेको ठाउँमा क्रमश कम गर्दै प्रांगारीक खेती प्रविधि अपनाउने गरी काम गर्न कर्मचारीलाई उहाँले सुझाउनुभयो।

तपाईको प्रतिक्रिया