सुर्खेत । राज्यबाट कृषि क्षेत्रमा प्रवाह हुने सरकारी अनुदानको पहुँचमा कर्णालीका ४ प्रतिशत कृषक मात्रै पुग्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको सातौ राष्ट्रिय कृषि गणना २०७८ को कर्णाली प्रदेशस्तरिय नतिजाअनुसार नेपालमा ३ लाख ८५ हजार ५ सय १२ अर्थात ७५ प्रतिशत कृषक सरकारी अनुदानको पहुँचमा पुग्दा कर्णाली प्रदेशमा भने ४ दशमलव ४ प्रतिशत कृषक सरकारी अनुदानको पहुँचमा रहेको देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौ राष्ट्रिय कृषि गणना २०७८ मा नेपालमा जम्मा ४५ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय ५० हेक्टर जग्गामा कृषिकार्य गरेको देखाएको छ । यो तथ्यांकले २०६८ को तुलनामा कृषि क्षेत्रमा संलग्न मानिस र उपयोग भएको जग्गाको क्षेत्रफल ऋणात्मक भएको देखिएको छ । २०६८ को कृषि गणनाले नेपालमा ३८ लाख २१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखाएको थियो ।

यो कृषिगणना अनुसार कर्णाली प्रदेशमा ३ लाख २ हजार ६ सय ४० कृषक परिवारले १ लाख १७ हजार ४ सय ११ हेक्टर जग्गामा कृषिकार्यमा गरेको देखिन्छ । यस्तै, नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाईएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको संख्या ७१ प्रतिशत रहेको देखाएको थियो । यस गणनाले कर्णाली प्रदेशमा ८२ दशमलव ६३ प्रतिशत कृषक परिवार रहेको देखाएको छ ।
यो कृषि गणनाले कृषक परिवार अन्तर्गत जम्मा कित्ता सख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० प्रति कृषक परिवार कित्ता संख्या रहेकोमा २०६८ को गणनाले यो संख्या १ करोड २० लाख ९६ हजार ४ सय १७ देखाएको थियो । यसरी नै कर्णाली प्रदेशको सन्दर्भमा जम्मा कित्ता संख्या १० लाख १७ हजार ९ सय २४ प्रति कृषक परिवार कित्ता संख्या रहेको देखाएको छ । नेपालमा कुल सिंचित क्षेत्रफल ५४ दशमलव ५ प्रतिशत रहदा कर्णालीमा २८ दशमलव ८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । यस्तै, नेपालमा सिंचाइ सुविधा लिएका परिवारको ७० प्रतिशत रहेकोमा कर्णाली प्रदेशमा ५६ दशमलव ८२ प्रतिशत छ ।

कृषि गणना २०७८ अनुसार नेपालमा धान बाली लागेको क्षेत्रफल १ करोड २१ लाख ६६ हजार ८ सय ७७ हेक्टर, मकै ५५ लाख ९ हजार २ सय ९३ हेक्टर र गहुँ ६ लाख ५४ हजार १ सय ९४ हेक्टर क्षेत्रफलमा खेति हुने गरेको छ । जसमा कर्णाली प्रदेशमा धान, मकै र गहुँ खेति हुने क्षेत्रफल क्रमश २ हजार २ सय ४५, ४० हजार ८३ र ५१ हजार २६ हेक्टर रहेको छ ।
स्थायी बालीमा बगैंचाको रूपमा लगाईएको आँपको क्षेत्रफल १९ हजार ७ सय ८१, केरा ७ हजार ८ सय ९८, सुन्तला ६ हजार ५ सय ४५, कागती २ हजार ८ सय ७ र स्याउ ३ हजार ८० हेक्टर क्षेत्रफलमा खेति हुने गरेको तथ्यांकमा उल्लेख छ ।
यी सबै फलफुल बालीहरुको क्षेत्रफल २०६८ को कृषि गणनाको तुलनामा बढेको देखिएको छ । कर्णाली प्रदेशमा आँप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल क्रमश ३ हजार ५ सय २५ ४ सय ७२, ८ सय ९२, २ सय ३ र २ हजार १ सय ९७ हेक्टर रहेको यो गणनाले देखाएको छ । नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८ सय ५७ बाट बढेर ३४ लाख ५ हजार १४ पुगेका छन् ।
कृषि गणना २०७८ अनुसार नेपालमा माछापालन गर्ने कृषक करिव ४२ हजार सात सय, पोखरी संख्या ४९ हजार र यी पोखरीले ओघटेको क्षेत्रफल १० हजार चार सय हेक्टर रहेको छ । यो गणना अनुसार कर्णाली प्रदेशमा माछापालन गर्ने कृषक चार सय चौवालिस, पोखरी संख्या चार सय बहत्तर र यी पोखरीले ओघटेको क्षेत्रफल करिव ४० हेक्टर रहेको तथ्यांकमा उल्लेख छ । यो गणनाले कर्णाली प्रदेशमा कृषि प्रयोजनका लागि ऋण लिने कृषकको संख्या ९ दशमलव ९ प्रतिशत रहेको छ भने, कृषि बीमा गरेका कृषकको संख्या ३ दशमलव ५ प्रतिशत रहेको छ । यस प्रदेशमा मुख्य कृषकमा पुरुष ६५ दशमलव ६ र महिला ३४ दशमलव ४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । कर्णालीमा कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने कृषकको संख्या ३० दशमलव ५ प्रतिशत रहेको सातौं राष्ट्रिय कृषि गणना २०७८ मा उल्लेख छ ।

नेपाल कर्म । २७ मंसिर २०८०, बुधबार १७:४९