बजेटमा कर्णाली : योजना थुप्रै समावेश, कार्यान्वयनमा जहिल्यै सुस्त

सुर्खेत । संघीय सरकारले १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गर्दा कर्णाली प्रदेशले पनि उत्तिकै महत्व पाएको छ । कतिपय योजनाहरुमा आकर्षक नाम थप गरेपनि बजेटमा अधिकाँश आयोजनाहरु पुरानै समावेश गरिएको छ ।
अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको बजेटमा कर्णालीका कृषि, विद्युत, नदी नियन्त्रण, सिंचाई, आवास, शहरी योजना, भौतिक पूर्वाधार, खानेपानी, मेडिकल पूर्वाधार, नागरिक उड्ड्यन, पर्यटन, खाद्य सुरक्षा, खानी लगायतका योजनाहरुमा बजेट विनियोजन गरिएको छ ।



अर्गानिक कर्णाली बनाउने घोषणा गरेको प्रदेश सरकारको योजनामा संघ सरकारले हात मिलाउनेगरी बजेटको व्यवस्था गरेको जनाएको छ । रत्न राजमार्गको हर्रेमा यसअघि आर्थिक वर्षमै भवन निर्माण गरिसकिएको छ । आवश्यक जनशक्ति अभावका कारण सञ्चालनमा कठिनाई छ । तर संघ सरकारले सञ्चालन गर्नेगरी विनियोजन गरेपछि प्रदेश सरकारलाई राहत पुगेको छ ।

बजेटमा कृषितर्फ कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने मार्सी धान, जौं, फापर, कागुनो, सिमी खाद्या व्यापार कम्पनीमार्फत खरिद गर्ने र सुर्खेतमा कृषि उपज, थोक बजारलाई व्यवस्थित बनाउने समावेश छ । लामो समयदेखि दैलेखको पेट्रोलियम पदार्थ अन्वेशन तथा उत्खनन चर्चा रहेपनि सरकारले बजेटमा यथाशिघ्र अघि बढाउने समावेश छ । यो लामो समयदेखि अन्वेषण भएपनि युद्धस्तरमा काम हुन नसकेको योजना हो । खाद्य सुरक्षातर्फ कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरुमा खाद्यान्न आपुर्ति सहजताका लागि आधुनिक गोदाम घर निर्माण गर्ने अर्थमन्त्री महतले बताए ।

‘रुकुम र डोल्पाका सांस्कृतिक सम्पदालाई पर्यटनमा जोडिनेगरि पर्यटनमार्ग बनाइनेछ,’ महतले भने, ‘सल्यानको छत्रेश्वरी, जुम्लाको चन्दनाथ, दैलेखको पञ्चकोशी क्षेत्रलाई संरक्षण तथा पूर्वाधार विकास गरी सौन्दर्यीकरण गर्नमा बजेट विनियोजन गरेको छ ।’

सरकारी ध्वजावाहक वायु सेवाले भरपूर्ण सेवा नदिँदा नीजि वायुसेवाको मनलाग्दी उडान सेवाले आजित बनेका कर्णालीका थप दुई जिल्लामा विमानस्थल स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । सुर्खेत वेश बनाएर उडान भर्न नमानेका नीजि वायु सेवा कम्पनीलाई मनाउन नसकेको सरकारले रुकुमको चौरजहारी र जुम्लास्थित खलंगा विमानस्थलको स्तरोन्नति गरिने बजेट विनियोजन गरेको छ । वर्षौदेखि अपूरै रहेको सुर्खेतमा निर्माणधिन मेडिकल कलेजका लागि आगामी आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

सुर्खेतको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण र भेरीगंगा उपत्यका शहरी विकासको गुरुयोजना पूरा सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए । प्रदेशले दैलेखको राकम कर्णालीमा ट्रमा अस्पताल निर्माण गर्ने अघि सरेको योजनालाई केन्द्र सरकारले नाम संशोधन गर्दै एकसय शय्याको स्याटेलाइट अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेको छ । यो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहनेछ । सुर्खेतको पञ्चपुरी, दैलेखको महाबुमा खानेपानी निर्माण तथा सुर्खेत उपत्यकाको खानेपानी संकट टार्न भेरी पम्पिङ आयोजनाका लागि समेत बजेट विनियोजन गरिएको छ ।

मध्यपहाडी राजमार्गको जाजरकोट र मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताए । हरेक आर्थिक वर्षमा हुम्ला सदरमुकाममा सडक सञ्जाल जोड्ने लक्ष्यलाई आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ । तर कर्णाली करीडोरको खुलालु–सलीसल्ला र हिल्सा खण्ड निर्माण तथा स्तरोन्नतिको लागि ९७ करोड तथा भेरी करिडोरको जाजरकोट–दुनै सडक स्तरोन्नतिका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, राप्ती राजमार्गको दाङ–सल्यान–रुकुमपश्चिमको मुसिकोट जोड्ने सडक स्तरोन्नतिका लागि ९० करोड बजेट छुट्ट्याइएको छ । दुई लेन सडकको रुपमा विस्तार गर्ने वर्षौदेखिको अपूरै रहेको रत्न राजमार्गको कोहलपुर–सुर्खेत सडक निर्माणका गर्न आगामी वर्षका बजेट विनियोजन गरिएको छ ।

सुरक्षित नागरिक आवास र चौरजहारी शहर पूर्वाधारका लागि पनि बजेट विनियोजन गरिएको छ । भेरीबबई डाईभर्सन आयोजनाका हेडवक्र्स निर्माणका लागि एक अर्ब ७४ करोड र कर्णालीका १० वटै जिल्लामा लिफ्टमार्फत सिँचाई उपलब्ध गराउन एकीकृत कर्णाली सिँचाई विकास योजना अघि बढाउने सरकारले बजेट छुट्टयाएको छ । कर्णाली नदीमा जोखिम नियन्त्रण र डोल्पामा निर्माण गर्न लागिएको जगदुल्ला १०६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण यथाशिघ्र शुरु गरिने बजेटमा उल्लेख छ ।

४०० केभी कर्णाली कोरिडोर विद्युत प्रशारण लाईन अगाडि बढाउन र भेरी करिडोर प्रसारण लाईनका लागि बजेटमा वित्तीय सुनिश्चितता गरिएको छ । कर्णालीमा अपांगता भएका व्यक्तिको पुनःस्थापनार्थ र सुर्खेतको रातानाङ्गलामा रहेको मौसमी राडारलाई पूर्ण रुपमा सञ्चालन गरिने बजेटमा समावेश छ ।

तपाईको प्रतिक्रिया