‘पार्टीका झोला बोक्नेलाई भिसी बनाउदा त्रिवि ध्वस्त भयो’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले त्रिभुवन विश्वविद्यालयमा पार्टीका झोला बोक्ने व्यक्तिलाई भिसी बनाउदा ध्वस्त भएको बताएका छन्। मध्यपश्चिम विश्वविद्यालय पोलिसी ल्यावले वीरेन्द्रनगरमा आयोजना गरेको दीगो र समावेशी संघीयताको प्रवद्र्धनका लागि राष्ट्रिय नीति संवादमा आफ्नो धारणा राख्दै उपकुलपती सिंहले राजनीतिबाट टाढा रहनुपर्ने शिक्षा, स्वास्थ्य, खेलकुद, सुरक्षा, न्याय र निजामती सेवामा राजनीतिक हस्तक्षेप हुनुले संघीयता सफल हुन नसक्ने बताए।



‘म तीनै दलका नेताहरुलाई भन्छु देश बनाउन पर्छ कि पर्दैन? तपाईहरुलाई आफ्ना मान्छे भिसी ल्याउनु पर्ने? भिसी ल्याउदा प्रतिस्पर्धा गरेर ल्याउनुहोस्, योग्य मान्छे ल्याउहोस् जो ल्याए पनि मलाई मतलव छैन, तर योग्य मान्छे ल्याउनुहोस्’ सिंहले भने, ‘त्रिभुवन विश्वविद्यालय ध्वस्त भएको छ, पार्टीका झोला बोक्ने झोलेहरुलाई त्रिभुवन विश्वविद्यालयको भिसी बनाउनु हुन्न, नेपालको भिसी बनाउनु हुन्न अनि मात्रै शिक्षामा संघीयता काम लाग्छ, यो मेरो आग्रह हो।’

समावेशी र दीगो विकास सामान्य विषय नरहेको उल्लेख गर्दै सिंहले राष्ट्र निर्माणका लागि एकिकृत दीगो विकास अवधारणा अवलम्वनमा गम्भिर भएर लाग्नुपर्ने बताए। मेडिकल शिक्षा सुधारको नाममा लागेका डाक्टर गोविन्द केसीका कारण अबको केही वर्षमा नेपालमा विशेषज्ञ डाक्टर र नर्सहरु नपाईने सिंहले बताए।

‘एउटा प्रदेशमा एक हजारदेखि दुई हजार एमविविएर, इञ्जिनियर वा म्यानेजमेन्ट एक्सपर्ट निकाल्यौ भने, संसारका एक सय देखि डेढ सयसम्मका मान्छेहरु खर्बौ रुपैयाँ तिरेर नेपाल पढ्न आउछन्, खोइ यो कल्पना?’ उनले अगाडि भने, ‘गोविन्द केसी जस्ता काम नलाग्ने मान्छेलाई सर्तमा राखेर विदेशी दलालको पे खाएर १७ पटक वार्ता गरेर नेपालको शिक्षा नीति बिगार्ने गोविन्द केसी जस्ता मान्छे अपराधी हुन्, म उनलाई अपराधी भन्छु, यस्ता मान्छेले देश विगार्छन।’

राजनीतिक दलहरुले केसी जस्ता व्यक्तिलाई संरक्षण गर्न नहुने भन्दै उपकुलपति सिंहले भने, ‘काठमाण्डौमा के मेडिकल कलेज खोल्न नपाउने?, २३८ मेडिकल र नर्सिङ कलेज बन्द भएर सबै विद्यार्थी भारतको बोर्डरमा गएका छन्, बङ्गलादेश गएका छन् नेपाल ध्वस्त भयो, केही समयपछि यहाँ मेडिकल डाक्टर र नर्सहरु पाइदैनन्, अनि तपाई देश कसरी बचाउनु हुन्छ?’

देशमा संघीयताको सफल कार्यान्वयन र दीगो विकासका लागि आधुनिक जनशक्ति र बहुआयामिक नेतृत्व बिना सम्भव नरहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरु गरेको पोलिसी ल्याव मार्फत राष्ट्र निर्माणका लागि चिन्तन र मन्थन गरिने सिहंले बताए।

तपाईको प्रतिक्रिया