सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-२, को पलैटेमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गतको कार्यक्रम समन्वय कार्यालय सुर्खेतको आयोजना, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको प्राविधि सहयोग र सूर्य प्रकाश माध्यमिक विद्यालयको समन्वयमा शिविरको आयोजन गरिएको हो ।
उक्त शिविरमा १६४ कृषकका ८ सय २ पशुको स्वास्थ्य जाँच गरी औषधी र रेविजविरुद्धको खोप लगाइएको थियो । भैंसी, गाई, गोरु, बाख्रा, कुकुर, विरालो र कुखुराहरुमा जुका, रेविज खोप, खोरेत, अपच, बाह्य परजिवी, थुनेलो, घाउ चोट तथा ज्वरो अन्य संक्रमणहरुको चेकजाँच गरिएको पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर राकेश प्रजापतिले जानकारी दिए ।
शिविरमा जाँच गरिएका अधिकांश पशुहरुमा जुका र खोरेत संक्रमण बढी देखा परेको उनले बताए ।
शिविरमा पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक, कृषि विकास कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत, कृषि अधिकृत तथा सूर्य प्रकाश माध्यमिक विद्यालयमा भेटेरेनरी संकायमा अध्ययनरत विद्यार्थी तथा प्रशिक्षकहरु सहभागि रहेको कार्यक्रमका ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत रत्नबहादुर बुढाले जानकारी दिए ।
नेपाल कर्म । २६ मंसिर २०८०, मंगलवार १६:२०