सुर्खेत । मानव अधिकारलाई शान्ति र विकासको मूल आधार मानिएकाे कर्णाली प्रदेश प्रमुख तिलक परियारले बताएका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे शुभकामना सन्देश दिँदै परियारले नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको बताएका हुन् ।

संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको र त्यसै दिनको सम्झनामा विश्वव्यापी रूपमा यो दिवस मनाइने गरेको कुरा सबैलाई जानकारी नै रहेकाे परियारले जारी गरेकाे सन्देशमा उल्लेख छ ।

नेपालको संविधान २०७२ ले संघियता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक, समावेशिता, संस्थागत भएकाे उनकाे भनाइ छ । नेपालमा मानव अधिकारसम्बन्धी सबै महत्वपूर्ण महासन्धि र अनुबन्धहरुको पक्ष राष्ट्र बनिसकेले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिनुपर्ने उनले बताए ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानको लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोग लगायतका संवैधानिक तथा कानूनी निकायको व्यवस्था गर्नु आफैमा सन्तोषको विषय भएकाे उनले उल्लेख गरेका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन भई क्रियाशील रहेकाले नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको परियारले बताए ।

नेपाल कर्म । २४ मंसिर २०८०, आईतवार ०७:४२