रुकुम पश्चिम अमानविय हत्यामा संलग्नले सजाय पाएपछि अदालतको ढोकामा पीडितले चढाए फूल

रुकुम पश्चिम ।  रुकुम सोती हत्याकाण्डमा जिल्ला अदालत रुकुमको फैसलाको स्वागत गर्दै पीडित परिवारले बुधबार बाजागाजासहित अदालतको गेटमा फूल चढाएका छन् । जातीय विभेदका कारण नवराज विकसहित ६ युवाको अमानवीय हत्यामा संलग्नहरूलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।



१० जेठ २०७७ मा जाजरकोटका विकसहित उनका ६ साथीलाई माथिल्लो जातको किशोरीसँग प्रेम विवाह गर्न खोजेको भन्दै लखेट्दै भेरीमा बगाइएको थियो । जिल्ला अदालतले किशोरीका परिवार, छिमेकी र सो हत्यामा संलग्न २४ जनालाई जन्मकैदको फैसला गरेको थियो ।

फैसलापछि न्याय पाएको भन्दै पीडित परिवारले बुधबार अदालतमा फूल चढाएका हुन् । आफूहरूले न्याय पाएको भन्दै बाजागाजासहित अदालत पुगेका उनीहरूको नारा थियो, ‘छोरा मरे, न्याय मरेन ।’ ढिलै भए पनि अदालतबाट न्याय पाएको भन्दै अदालतलाई धन्यवादसमेत दिए ।

सदरमुकाम मुसिकोट खलंगाको त्रिवेणी चोकबाट अदालतमुनि पुगेका उनीहरू खलंगाबजार परिक्रमा गरेर कालिकास्थानमा पुगेका थिए । त्यहाँ कोणसभा गर्दै दलित अधिकारकर्मी तथा न्यायका लागि लडेकाहरूले न्यायको जित भएको बताएका थिए ।

सो घटनामा मारिएका नवराजका बुबा मुनलाल नेपालीले बल्ल न्याय पाएको महसुस भएको बताएका थिए । ‘गरिब र दलितको पक्षमा न्याय हुँदैन कि भन्ने डर थियो । तर, यो देशमा अझै न्याय मरेको रहेनछ । रुकुम जिल्ला अदालत भगवानसरि प्रकट भयो,’ उनले भने ।

मृतक गोविन्द शाहीकी आमा भीमीकुमारी बुढाथोकी शाहीले लामो पर्खाइ र लडाइपछि न्याय पाएको बताइन् । आफूहरूलाई न्याय नपाइने हो कि भन्ने लागेका बेला अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरिन् ।

मंगलबार रुकुम जिल्ला अदालतले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त घटनामा संलग्न भएको भन्दै २४ जनालाई जन्मकैदको फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया