ओम शाही, सर्खेत । दैलेखको गुराँस गाउँपालिका- ५, जिल्लानेका किसान नरबहादुर चन्दको बगैँचामा स्याउका दाना लटरम्म फल्दा उनको जीवन पनि भरिलो थियो । एकै सिजनमा १३ हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । चन्दको बगैँचामा ५० क्वीन्टलसम्म स्याउ फल्थ्यो ।

चन्दलगायत कर्णालीका कैयौँ किसानले स्याउ खेतीबाट आफ्नो जीवनस्तर उकास्ने सपना देखेका थिए । पहिलोपटक २०३२ सालमा ऋण लिई कृषि विकास कार्यालय, दैलेखबाट यहाँका किसानले प्रतिबोट ५० रुपैयाँमा किनेर १५ देखि ५०० बोटसम्म स्याउ रोपेका थिए । २०४६ सालदेखि त्यसले मनग्य फल दिन थालेको थियो । स्याउ खेती फस्टाएका बेला गुराँस गाउँपालिकामा एक सय किसानले ३ सय बढी रोपनीमा २ हजार ५ सय स्याउका बोट रोपेका थिए ।

२०५१ सालमा सुर्खेत-दैलेख सडकको ट्र्याक खुलेपछि स्याउको व्यापार विस्तार भयो । स्याउ बोकेर लैजानुको साटो यहाँबाट थोक मूल्यमा स्याउ खरिद गरी डुंगेश्वर, घोडावास, चुप्रा, धरमपोखरा, गोठीकाँडावासीले बिक्रीका लागि लैजान्थे । तर, त्यो अवस्था करिब एक दशक मात्र रह्यो । २०५७ सालदेखि स्याउ खेती बिग्रिँदै गयो । सुक्ने र राम्रो फल नलागेपछि किसानहरूले स्याउका बगैँचा मास्न थाले ।
‘सुरुका वर्षमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६ सयजति दाना दिन्थ्यो । सुरु-सुरुमा फलेका स्याउ रसिला थिए । पछि दाना स-साना भए, स्वाद पनि हराउँदै गयो,’ गुराँस गाउँपालिका– ५ का वडाध्यक्षसमेत रहेका कृषक भूपेन्द्रबहादुर चन्दले भने । रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फूल्न र फल्न थालेपछि किसानले स्याउ मासेर अहिले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । अहिले त्यही बजार भारतीय स्याउले ओगटेको छ ।

व्यापक सम्भावना बोकेको स्याउ खेतीको छोटो समयमै के कारणले अवसान भयो ? यसको कारक दैलेखजस्ता हिमाली क्षेत्रको मौसममा आएको परिवर्तन रहेको विज्ञहरू बताउँछन् । कृषि ज्ञान केन्द्र, दैलेखका कृषि प्रसार अधिकृत दशरथ पाण्डेका अनुसार ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्छ ।
समुद्री सतहबाट दुई हजार एक सय ९८ मिटर उचाइमा अवस्थित गुराँस गाउँपालिकाको हावापानी स्याउ खेतीका लागि उपयुक्त मानिन्छ । तर, उनका अनुसार यो जातका स्याउका फूल फूल्न र कोपिला फक्रिन ७ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएको एक हजार घन्टाभन्दा बढी अवधिसम्म चिस्यानको आवश्यकता पर्छ ।
‘रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाह्रै महिना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो, त्यसकै परिणाम गुराँस गाउँपालिकाको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।’ स्याउको राम्रो उत्पादनका लागि हिउँदमा पर्याप्त चिसो (हिउँ परेर) र चैत-वैशाखमा स्याउ फल्ने सिजनमा पर्याप्त वर्षा आवश्यक हुन्छ ।
स्याउ खेती गर्दा लिएको ऋण तिर्न नसकेपछि बैंकले एक जना किसानको जग्गा नै लिलामी गर्यो । १० हजार रुपैयाँ ऋण तिर्न नसक्दा कृषि विकास बैंकले स्थानीय प्रेम ढकालको जग्गा नै लिलाम गरिदिएको थियो । उनले सबैभन्दा बढी पाँच सय बोट स्याउ रोपेका थिए ।
‘बगैँचा बनाउँदा यसरी डुबिएला भन्ने पत्तै पाइएन । केही होला त भनेर गरेको सफल भइएन, बैंकले जग्गा जफत गरिदियो,’ ढकालले भने, ‘सुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत-दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नु पर्थ्यो । अहिले बाटो बनेको छ, गाडी आउँछ तर स्याउ फल्न छाड्यो ।’
स्याउ खेती हुन छाडेपछि ढकालजस्ता थुप्रै कृषकले ऋण तिर्न त सकेनन्, किसानमाझ स्याउका दाना सुकेझैँ जोश-जागर पनि हराएको छ । २०३२/०३३ सालबाट गुराँस गाउँपालिकामा स्याउ खेती सुरु भएपछि स्थानीय हरिलाल महतारा, खड्कबहादुर चन्द, नरबहादुर चन्द, प्रेमबहादुर चन्द, नैनबहादुर चन्द, रविन्द्र चन्द र तिलबहादुर शाहीलगायतका किसानले पहिलोपटक यस क्षेत्रमा स्याउ खेती सुरु गरेका थिए । जिल्ला कृषि विकास कार्यालयबाट प्रतिबोट ५० रुपैयाँमा खरिद गरी कलमी गरिएका स्याउका बोट रोपिएको कृषक भूपेन्द्रबहादुर चन्द बताउँछन् ।
उनका अनुसार उतिबेला रोपेको १५ वर्षसम्म राम्रै उत्पादन दिएका स्याउका बोटमा २०५५-५६ सालदेखि खैरो खालको दाग देखा पर्न थाल्यो । मध्यपहाडी क्षेत्रमा स्याउ उत्पादनको राम्रो सम्भावना बोकेको गुराँस गाउँपालिकामा जलवायु परिवर्तनको असरले स्याउ लोप हुने अवस्थामा पुगेको विज्ञहरू बताउँछन् ।

सुर्खेतको उत्तरी सीमा र दैलेखको दक्षिणी सिमानामा पर्ने गुराँस गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ स्याउ खेतीका लागि धेरै सम्भावना बोकेका क्षेत्र हुन् । गुराँस गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चन्द्रबहादुर राना ५० को दशकको तापक्रम र हालको तापक्रममा आकाश पाताल फरक रहेको बताउँछन् ।
स्याउ फल्न छाडेपछि अहिले किसानले अन्य तरकारी खेती गर्न थालेका छन् ।स्याउ फल्न छाडेपछि अहिले किसानले तरकारी खेती गर्न थालेका छन् ।
उतिबेला बाह्रैमास एकैनासको हावापानी रहने सो ठाउँमा हाल हिउँदको समयमा पनि खासै चिसो हुँदैन । अहिले मौसमी तथा बेमौसमी तरकारी र फलफूलमा कीरा लाग्ने र लामखुट्टेसमेत लेकमा देखिन थाल्नुलाई राना अनौठो मान्छन् । रानाको अनुभवलाई विज्ञहरूको अध्ययनले अनुचित मान्दैन । जलवायु परिवर्तनको असरले बिस्तारै तापक्रम वृद्धि र हावापानीमा बदलाव आइरहेको भन्नेमा विज्ञहरूबीच मतैक्य छ । मौसमविद् विनोद पराजुली भन्छन्, ‘गुराँसेमा हामीले अध्ययन त गरेका छैनौँ । तर, त्यहाँको तापक्रम बढेको हामीले पाएका छौँ । यो अनुसन्धानको विषय हो ।’
मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन एवम् जलवायुविज्ञ डा. सुदीप ठकुरीका अनुसार सन् १९७६ देखि २०१५ सम्म भएका विभिन्न अध्ययनमा जलवायु परिवर्तनका कारणले कर्णालीमा प्रतिवर्ष ० दशमलव ०४ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ । गुराँस गाउँपालिकाकै लागि भनेर अनुसन्धान नभए पनि जलवायु परिवर्तनले भइरहेको मौसम परिवर्तनसँग यो क्षेत्रलाई जोड्न सकिने उनी बताउँछन् ।
स्थानीयस्तरमा के कारणले स्याउ खेतीमा प्रभाव परेको हो भन्ने विषयमा अध्ययनबिना यही नै हो भन्न नसकिए पनि प्रभाव भने जलवायु परिवर्तनकै भएको उनी बताउँछन् । ‘सानो भोलुम हुनु र वेदर स्टेसन नहुनुले गुराँसमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान भएको अवस्था छैन । यस्तो अवस्थामा हामीले स्थानीय समुदायको भनाइ अनुसार जानुपर्छ । हामीले यो क्षेत्र नजिकका वेदर स्टेसनलाई विश्लेषण गरेका छौँ । यसले के देखाउँछ भने स्याउ फल्नुपर्ने हावापानीमा नफल्नु भनेको तापक्रम नै प्रमुख कारण हो,’ उनले भने ।
कर्णालीमा प्रभावकारी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि बलियो नीति तथा शासन संयन्त्र कमजोर रहेकाले यी नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय स्तरमा क्षमता र स्रोतको विकास गर्नमा ढिलाइ गर्न नहुने उनको सुझाव छ । कृषकले स्याउको फल नपाएर तरकारी तथा अन्य फलफूल खेतीबाट आम्दानी लिँदै आएको भए पनि पछिल्लो समय बेँसीको हावापानी लेकतिर सर्नुले आलु खेतीमा पुतली तथा ढुसी लाग्नु, खडेरीले सिँचाइमा समस्या हुनुजस्ता कारणले तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँस गाउँपालिकाको रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएनडीपी) ले गरेको एक अध्ययनले बढ्दो विश्वव्यापी जलवायु परिवर्तनको जोखिममा रहेका राष्ट्रमध्ये नेपाल अग्रपंक्तिमा रहेको देखाउँछ । सन् २०२१ मा प्रकाशित यूएनडीपीको प्रतिवेदनमा मानव गतिविधि नै वायुमण्डल, समुन्द्र र जमिन तातिनुले विश्वव्यापी असर पर्दै गएको उल्लेख गरेको छ । मौसमी विषमताका कारण कृषि क्षेत्र धेरै जोखिममा रहनुले विपन्न किसान यसको बढी मारमा परेको लामो समय जलवायु अनुकूलन क्षेत्रमा काम गरेका समृद्धि एग्रो प्रालिका निर्देशक याम शर्मा बताउँछन् ।
वीरेन्द्रनगरबाट उत्तरतर्फ पर्ने गुराँसे क्षेत्र, जहाँ कुनै बेला मनग्य स्याउ फल्ने गर्दथ्यो । स्याटलाइट तस्वीर स्रोतः गुगल अर्थ वीरेन्द्रनगरबाट उत्तरतर्फ पर्ने गुराँसे क्षेत्र, जहाँ कुनै बेला मनग्य स्याउ फल्ने गर्थ्यो । स्याटेलाइट तस्वीर स्रोतः गुगल अर्थ
जलवायु परिवर्तनले बदलाव आएको गुराँसको तापक्रम अुनसारको जलवायु अनुकूलन कृषि प्रणाली अपनाएर नयाँ प्रजातिका स्याउ खेतीका लागि संघ, प्रदेश र स्थानीय तहले बेलैमा ध्यान पुर्याउन सके स्याउ खेतीबाट विस्थापित भएका गुराँसेका किसानलाई वैकल्पिक कृषि उत्पादनमा पुनः जोड्न सकिने शर्मा बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख दशरथ पाण्डेले जलवायु परिवर्तन न्यूनीकरणका लागि कुनै कार्यक्रम नभए पनि कृषिका अन्य कार्यक्रममार्फत जलवायु अनुकूलनको क्षेत्रमा काम गरिरहेको बताए । बर्सेनि भइरहेको जलवायु परिवर्तनले पारेको असरसँगै यो क्षेत्रको संरक्षण हुन नसक्दा कृषियोग्य जमिन बाँझो हुँदा खाद्य संकट बढेको उपभोक्ता हित संरक्षण मञ्च कर्णालीका अध्यक्ष विन्दुलाल रेग्मी बताउँछन् ।
गुराँस गाउँपालिकाले जलवायु अनुकूलन खेती प्रणालीका लागि दातृ निकायहरूसँग मिलेर काम गरिरहेको गाउँपालिका अध्यक्ष टोपबहादुर बीसी बताउँछन् । जलवायु परिवर्तनले किसानको बारीदेखि भान्सासम्मै असर देखा पर्न थालेको बताउँदै उनले मानिसको आनिबानीसँगै खेती प्रणालीमा पनि सुधार गर्ने योजना पालिकाको रहेको बताए ।
(यो अनुसन्धानात्मक रिपोर्टिङ संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) द्वारा प्रदान गरिएको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।)

नेपाल कर्म । २० मंसिर २०८०, बुधबार ०७:३०