भेरी बबई डाइभर्सन पुगेर ओलीले सम्झिए मनमोहन

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनास्थलमा पुगेर मनमोहन अधिकारीलाई स्मरण गर्दै निर्माणमा बिलम्ब गर्न नहुने बताएका छन् । एमालेले १४ मंसिरबाट सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेस्थित आयोजनास्थलको निरीक्षण गर्दै ओलीले राष्ट्रका रुपान्तरणकारी परियोजना निर्माणमा सबैको ध्यान जानुपर्ने बताए ।



२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सुरु भएको बबई सिंचाई अयोजनाले बाँके र बर्दियामा पर्याप्त सिंचाई पु¥याउन सम्भव नहुने देखिएपछि भेरी डाइभर्सन परियोजना अगाडि सारिएको उनले बताए ।
सुरुवाती चरणमा आयोजना निर्माणले गति लिएर तोकिएको समय अगावै ब्रेकथु्र भएको परियोजना कोभिड–१९ का कारण पछाडि धकेलिएको उल्लेख गर्दै आगामी दिनमा स्रोत साधनको प्रभावकारी परिचालन गरी तोकिएको समयमा उच्च गुणस्तरको आयोजना सम्पन्न हुनुपर्ने ओलीको भनाई थियो ।

उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने बताए । उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

‘गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस्,’ उनले भने ।
नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेसिन (टिबिएम) प्रवधिबाट निर्माण गरिएको १२ किलोमिटर सुरुङको ३ बैशाख २०७६ मा तत्कालिन प्रधानमन्त्री रहेका ओलीले ‘ब्रेकथ्रु’ गरेका थिए । परियोजनाले बाँके र बर्दियामा ५१ हजार हेक्टर जमिनमा सिंचाई पु¥याउने तथा ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । ३३ अर्ब बढी लागतको आयोजनाले हालसम्म ६१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया