दैलेख । नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ मा सुरु भएको अभियान सुदूरपश्चिमको अछाम र दैलेख जोड्ने कर्णालीको पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो ।

दैलेखको राकममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकार जसरी चल्नु पथ्र्यो त्यसरी नचलेको दावी गरे । देशलाई निकास दिन एमाले बाहेक अरु दलबाट सम्भव नभएको ओलीको भनाइ थियो ।

मध्यपहाडी राजमार्गअन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो । पुलमा एमाले सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अमियान टोली कर्णाली प्रदेश प्रवेश गरेको हो ।

पञ्चकलस र पञ्चकन्यासहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई स्वागत गरेको हो । ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गरेका थिए ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ बुधबारदेखि सुरु अभियानमा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिब्युरो सदस्य र केन्द्रीय सदस्यलगायत सहभागी छन् ।
एमालेको मध्यपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिने छ ।

नेपाल कर्म । १७ मंसिर २०८०, आईतवार १९:०३