पुष्पलाल लोकमार्गमा किन हिँडिरहेकाे छ एमाले ?

सुर्खेत । गत वर्ष मात्रै ‘मिसन ग्रास रुट’मार्फत आफ्नो शक्ति जाँच गरेको नेकपा एमालेले बिहीबारदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गरेको छ । मध्यपहाडी लोकमार्गमा १८ दिनसम्म चल्ने अभियानको बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट शुभारम्भ गरे । सो अवसरमा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए ।



१ फागुन २०७३ मा पूर्व–पश्चिम महेन्द्रराजमार्गमा मेची–महाकाली यात्रा गरेको एमालेले दोस्रोपटकमा भने मध्यपहाडको यात्रा सुरु गरेको हो । पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्मको १ हजार ७ सय किलोमिटरको यात्रामा २६ जिल्लामा सभा, कोणसभा, अन्तर्क्रिया तथा छलफलमार्फत प्रत्यक्ष साक्षात्कार गर्ने लक्ष्य एमालेको छ ।

एमालेको यो अभियानलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ । कसैले एमालेको मिसन ८४ बुझिरहेका छन् । कतिपयले पछिल्लो समय नयाँ राजनीतिक शक्तिका कारण पुराना दलहरूप्रति नागरिकको बढ्दो वितृष्णाका बीच सहानुभूति बटुल्न एमालेले अभियान चलाएको टिप्पणी गरिरहेका छन् ।

एमालेले यो अभियानलाई ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भनेको छ । अभियानका क्रममा विकास गाउँ पसेको छ तर, गाउँका मान्छे किन शहर पसिरहेका छन् ? अर्थात् मध्यहाडबाट भइरहेको तीव्र बसाइसराइका कारणहरूको पहिचान र समाधानको खोजीका लागि यो यात्रा तय गरेको एमाले नेताहरू बताउँछन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमध्ये पाँचबाहेक २१ वटा जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ । उक्त जनगणनाअनुसार मध्यपहाडमा पर्ने यी जिल्लामा हाल ५७ लाख ७८ हजार ९ सय ८५ जनसंख्या रहेको छ ।

यो अभियान सामाजिक सद्भाव र राष्ट्रिय एकताको रूपमा रहेको एमाले नेताहरू बताउँछन् । जनजातिको बाहुल्य रहेको मध्यपहाडमा पछिल्लो समय विभिन्न जातीय र पहिचानवादीका नाममा भइरहेको राजनीतिका कारण बिथोलिँदो सामाजिक सद्भाव जोगाउन सद्भाव र राष्ट्रिय एकता प्रवर्द्धनमा टेवा पुग्ने एमालेको अपेक्षा छ ।

मध्यपहाडी लोकमार्ग नेकपाका संस्थापक महासचिव पुष्पलालको नामबाट नामकरण भएको हो । यसले मध्यपहाडलाई पूर्वदेखि पश्चिम जोड्छ । पुष्पलालको मार्गमा हिँड्ने एमालेले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठको हिसाबले पनि अभियानलाई महत्त्वपूर्ण मानेको छ । मध्यपहाडको यात्रा गरेर पार्टीका संस्थापक महासचिवसँगै सो क्षेत्रका पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गर्दै गोलबद्ध गर्ने एमालेको अर्को रणनीति देखिन्छ ।

केन्द्रीय नेतासँग जनताको दूरी बढ्दै गएको जनगुनासोका बीच यात्राको दौरानमा सिङ्गो एमालेको नेतृत्व पङ्क्तिले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने, जनताका समस्या प्रत्यक्ष सुन्नेछन् । त्यसको नेतृत्व अध्यक्ष ओलीले नै गर्ने र सबै नेतृत्वले पछ्याउने रणनीतिका साथ सम्बन्ध सुधारको दाउमा एमाले देखिन्छ ।

तुलनात्मक रूपमा मध्यपहाडका बासिन्दा अहिले बढी निराश छन् भनिन्छ । कारण, यस क्षेत्रमा ठूला उद्योग स्थापना भएका छैनन् । रोजगारीका अवसर सीमित छन् । कृषि उत्पादन दैनिक घट्दो मात्रामा छ । मानिसहरू सुविधा र अवसरको खोजीमा शहर र तराईतिर बसाइँ सर्दै छन् । युवाहरू रोजगारीका लागि खाडीका देश र भारतमा जाने लर्को मध्यपहाडकै छ । यो क्षेत्रले राज्यबाट पनि एक्लिएको महसुस गरेको छ ।

यो यात्रामार्फत मध्यपहाडमा आशाको सञ्चार गराउने, नेपाल सवल र समृद्ध बन्न सक्छ भन्ने आत्मविश्वास अभिवृद्धि गर्न चाहेको सन्देश छर्न खोजेको एमाले नेताहरू बताउँछन् । एमालेको बलियो पकड रहेको मध्यपहाडका केही जिल्लामा माओवादी संसदीय राजनीतिमा आएसँगै बाँडिएको मत पुनः आफ्नो पक्षमा ल्याउने रणनीतिमा एमाले देखिन्छ ।

त्यसो त मध्यपहाडआसपास केही ‘गेमचेन्जर’ भनिएका परियोजनाहरू नभएका भने होइनन् । ती परियोजनाहरूले पूर्णता पाउने हो र सफलतापूर्वक सम्पन्न हुने हो भने मध्यपहाडको मुहार फेरिनेमा दुई मत छैन । त्यसैलाई केन्द्रमा राखेर एमालेले यो यात्रा तय गरेको बुझ्न गाह्रो छैन ।

पुष्पलाल लोकमार्गले छोएका जिल्लाहरूमा लामो समयदेखि पश्चिम सेती, कर्णाली–चिसापानी, माथिल्लो कर्णाली, अरुण, बुढी गण्डकी तथा तमोर जलाशययुक्त परियोजनाहरू अगाडि बढ्न सकेका छैनन् । एमाले यो अभियानमा त्यस्ता मुद्दाहरू पनि उठाउनेछ, जसले मध्यपहाडमा एमालेको उपस्थिति बलियो बन्नेमा नेताहरू आशावादी देखिन्छन् ।

तपाईको प्रतिक्रिया