जाजरकाेट। गत १८ कात्तिक राति गएको भूकम्पले घर भत्किएपछि जाजरकोटको नलगाड नगरपालिकाकी किशोरीको बास त्रिपालमुनि भयो । ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भइन् ।

बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परे । घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

अभियोग पत्रमा उल्लेख भएअनुसार २६ कात्तिकको अन्दाजी ८ः३० बजे पीडित किशोरी केही पर रहेको शौचालय पुुगेर फर्किँदै थिइन् । पछाडिबाट मुख छोपी रुन कराउन नदिएर गोपालले उक्त स्थानदेखि करिब ६० मिटर पर रहेको कृषि विद्यालयनजिकैको बाँझो जग्गामा लगी लडाए र प्रतिकार गर्दा उल्टै कुटपिटपछि बलात्कार गरे ।
बलात्कारपछि किशोरी हिँड्न नसक्ने भएको र आरोपीले नै काँधमा बोकेर त्रिपालले बनाएको ठूलीआमाको अस्थायी आवास छेउमै ल्याएर छाडेको पनि अभियोगपत्रमा उल्लेख छ ।पीडित किशोरीको बुुबा आमासहितको परिवार भारतमै मजदुरी गर्दै आएका छन् । किशोरी भने नागरिकता बनाउन भन्दै दसैँअघि नलगाड आएकी थिइन् । तर, बलात्कार भइन् ।

बलात्कार घटनाका आरोपी गोपालले पीडितको योनीमा औँला छिराएको बयान दिएका छन् । करणी गर्न लाग्दा भने पीडितले रिङ्गटा लागेको भनेपछि करणी नगरेको उनको जिकिर छ । उनका अनुसार, २६ कात्तिकको राति निद्रा नलागेपछि उनी ‘रोड–ढिक’ गीत सुनिरहेका थिए । त्यहीबेला पीडित नजिक आएको र कता जान लागेको हो भन्दा निद्रा नलागेपछि घुमफिर गर्न आएको भनेकी थिइन् । यसपछि आफूले ‘आउ, यतै बसौँ’ भनेको र पीडित नजिक आएर बसेको बयानमा गोपालले उल्लेख गरेका छन् ।
किशोरी नजिक आएर बस्दा यौनसम्बन्धी कुरा गरेको र बालिकाले ‘यहाँ हुँदैन, मानिसहरू आउँछन्’ भनेपछि कृषि विद्यालयपछिको बाँझो जग्गामा गएको पनि गोपालको बयान छ । सोही जग्गामा पहिले पीडितको योनीमा औँला छिराएको र पछि रिङ्गटा लागेको भनेकाले करणी नगरेको गोपालले बयान दिएका छन् ।
किशोरीको योनीमा औँला छिराउनुलाई पनि करणी नै मान्ने गरिन्छ । यसपछि सरकारी वकिल कार्यालय जाजरकोटले शुक्रबार जिल्ला अदालतमा गोपालविरुद्ध जबजस्ती करणीसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको छ ।
पीडित १८ वर्षभन्दा कम उमेरका भएका कारण सरकारी वकिल कार्यालयले अभियुक्त गोपाललाई १० वर्षसम्म कैद सजाय र तीन लाख रुपैयाँ जरिवानाको माग दाबी गरेको छ । जिल्ला सहन्यायाधिवक्ता निर्मलकुमार पुनले अभियोजन गरेको अभियोग पत्रमा जरिवानावापतको रकम क्षतिपूूर्तिस्वरूप पीडितलाई दिन माग गरेका छन् ।

नेपाल कर्म । १६ मंसिर २०८०, शनिबार १५:०६