ज्योति फाउण्डेसनले किन गर्दैछ सांगीतिक साँझ ?

सुर्खेत । सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने उद्देश्यले स्थापना भएको श्री ज्योति फाउण्डेसनले शुक्रबार (भोली) वीरेन्द्रनगरमा सांगीतिक साँझ आयोजना गर्दै छ । बिहीबार कार्यक्रम तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रवद्र्धनको सहयोगार्थ सांगीतिक साँझको आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन ।



फाउन्डेसनको आयोजना गैरआवासीय नेपाली संघ (एनआरएनए) को मुख्य प्रायोजन र नेपाल टेलिकमको सहप्रायोजन तथा प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा हुने सांगीतिक साँझको सम्पूर्ण तयारी पुरा भएको उनले बताइन ।

साँझ ४ बजेदेखि वीरेन्द्रनगरस्थित सुर्खेतसभाहलमा सुरु हुने सांगीतिक साँझमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु तिलक सिंह पेला, राज सिग्देल, शिशिर योगीका साथै बागीना समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुति रहने फाउण्डेसनकी अध्यक्ष कटुवालले जानकारी दिइन । कार्यक्रमको प्रमुख अतिथि खलंगामा हमला पुस्तकबाट मदन पुरस्कार जित्न सफल लेखक एवम् सामाजिक अभियन्ता राधापौडेल रहने कार्यक्रममा भूकम्पबाट भाग्यले बाँचेका छोरीहरुले आफ्ना अनुभुति सुनाउने छन् ।

अध्यक्ष कटुवालका अनुसार हालसम्म झण्डै १५ लाख बराबरको टिकट वितरण गरिएको छ, भने विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाहरुमा आर्थिक सहयोगका लागि प्रस्तावना पेश गरिएको छ । सांगीतिक साँझ र सहयोगी दाताहरुबाट भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको सहयोगार्थ ३० देखि ३५ लाखसम्म आर्थिक संकलन गर्ने लक्ष्य राखेको बताउदै अभियानबाट संकलन भएको आर्थिक सहयोग बैंकमा दाखिला गरि सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गर्ने कटुवालले बताइन ।

लैंगिक हिंसा, यौन दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन, छाउपडी र बालविवाह जस्ता समस्याबाट ग्रसित कर्णालीका महिला तथा बालिकाहरुको पक्षमा वकालत गर्दै पीडकलाई कानूनी दायरामा ल्याइ पीडितलाई न्याय दिलाउने उद्देश्यले फाउन्डेसन स्थापना भएको अध्यक्ष कटुवालले बताइन ।

तपाईको प्रतिक्रिया