सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न युनिटहरुमा कार्यरत नेपाल प्रहरीहरुलाई मोबाईल फोन चलाउन प्रतिवन्ध गरिएको छ । डिउटीको समयमा प्रभावकारी रुपमा प्रहरीहरुले जिम्मेवारी नसम्हालेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले मोबाईल फोन चलाउन प्रतिवन्ध लगाएको हो ।

यो नियम कर्णाली प्रदेश कार्यालय र मातहतका प्रहरी कर्मचारीहरूमा पनि लागु गरिएको छ । आफ्नो ड्युटिमा रहेका प्रहरीहरुले सो समयमा मोबाईल चलाउन पाउने छैनन् । तर आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु गरिएको छैन् ।
ड्युटि टिममा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोनमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख (डिआईजी) भिमप्रसाद ढकालले जानकारी दिए ।

‘सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरून भन्ने उदेश्य हो,’ ढकालले भने, ‘ड्युटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन यो व्यवस्था लागू गरेका छौं ।’

डिउटीको समयमा मोबाईल नचालाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने र सामाजिक सञ्जालको दुरूपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने कार्यालयले जनाएको छ । प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत र यो नियमले प्रहरीप्रति नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको ढकाल बताउँछन् ।
ड्युटिको समयमा मोबाईल नचलाउन÷नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकिसम्म परिपत्र गरेको छ । नियमको पालना भए नभएको प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था कार्यालयले मिलाएको छ । अटेरी गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारवाही गर्ने कार्यालयको भनाई छ ।

नेपाल कर्म । १४ मंसिर २०८०, बिहीबार १७:०२