सुर्खेत । सरकारले कडा रोगका बिरामीहरुलाई उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरेको छ । विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० अनुसार कडा आठ रोगमध्य केही रोगहरुको कर्णालीबाटै नागरिकहरुले निःशुल्क उपचार सेवा पाउने भएका हुन् ।

सरकारले यसअघि कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामार्फत ब्यहोर्दै आएको थियो । तर, पुनः स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गर्दै कडा रोगको उपचार खर्चको कार्यक्रम विपन्न कार्यक्रम अन्तर्गत नै ल्याएको हो ।

निर्देशिकामा कडा रोगमा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियालाई समेटिएको छ । यीमध्य हेमोडायलाइसिस र हेड इन्जुरीको उपचार कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट नागरिकहरुले निःशुल्क लिन सक्नेछन् । जुम्लाबाट थप सिकलसेल एनिमिया, क्यान्सर उपचार, मुटु रोग, पार्किन्सन्स र अल्जाइमर्स तथा स्पाइनल इन्जुरीको सेवा पनि निःशुल्क लिनसक्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार यी रोग भएका बिरामीको उपचारमा वडा कार्यलयको सिफारिसका आधारमा सरकारले सहुलियत रकम प्रदान गर्नेछ । तर, कडा रोग भएका बिरामीले उपचार गराउँदा सरकारले तोकेकै अस्पतालमा गराउनुपर्नेछ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा बढी ४ लाख रुपैयाँ सहुलियत प्रदान गर्नेछ ।
यसैगरी, हप्ताको बढीमा दुई पटक हेमोडाइलाइसिस र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा प्रति सेसन २५००, अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिसमा प्रति प्याकेज ५ सय १ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिका छ ।

एक्युट किड्नी इन्जुरी, एक्युट गुल्मेरुलो नेफ्राइटिस र नेफ्रोटिक सिन्ड्रोम भएका र मिर्गौला प्रत्यारोपण पश्चात औषधी सेवन गरिरहेका बिरामीले १ लाख रुपैयाँ सहुलियत पाउनेछन् ।
विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० अनुसार विभिन्न प्रकारका मुटु रोग, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।
कुनै एक रोगको औषधि उपचार सहुलियत प्राप्त गरिसकेपछि पुनः सोही रोगका लागि औषधि उपचार सहुलियत सुविधा लिन पाउँदैनन् । तर, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत भने पाउने छ ।
यस्ताे छ उपचार निर्देशिका

नेपाल कर्म । १३ मंसिर २०८०, बुधबार १७:५४