सुर्खेत । भूकम्पबाट थलिएको जाजरकोटको घाउमा राजनीतिक दलहरूले मलम लगाउने प्रयास जारी राखेका छन् । विभिन्न राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनमा आबद्ध युवाहरूलाई स्वयम्सेवकका रूपमा खटाएर भूकम्पले प्रभावित नागरिकको छानो बनाउनमा सघाइरहेका छन् ।

नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि अस्थायी आवास निर्माणमा सघाएर सामूहिकताको सन्देश प्रवाह गर्न खोजेका छन् ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा दलहरूले सुरु गरेको श्रमदान अभियानबाट हालसम्म पाँच सय २५ अस्थायी आवास निर्माण भएका छन् । जसमा सबैभन्दा बढी एमालेले अस्थायी आवास निर्माण गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा खटिएको एमाले स्वयम्सेवकको कमान्ड सम्हालिरहेका एमाले केन्द्रीय सदस्य एवम् स्वयम्सेवक परिचालन कमिटी संयोजक किरण पौडेलका अनुसार हालसम्म जाजरकोटमा तीन सय १५ वटा अस्थायी आवास निर्माण गरिसकिएको बताए ।
पौडेलका अनुसार एमालेले नलगाड नगरपालिकाको वडा नम्बर १, ३, ५, ६ र ७, भेरी नगरपालिकाको वडा नम्बर १ र ३, कुशे गाउँपालिकाको वडा नम्बर ७, बारेकोट गाउँपालिकाको वडा नम्बर १, ३, ५ र ९ तथा छेडागाड नगरपालिका वडा नम्बर ८ मा अस्थायी आवास निर्माण गरेको छ ।
एमालेबाट जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण र भग्नावशेष हटाउन ११ सय बढी स्वयम्सेवक परिचालित भएका छन् । अस्थायी आवास निर्माण गर्दा गरिब विपन्न परिवार, महिला, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, अपांग तथा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको संयोजक पौडेलले बताए ।
यस्तै, कांग्रेसले हालसम्म जाजरकोटमा एक सय चारवटा अस्थायी आवास निर्माण गरेको छ । कांग्रेस कर्णाली प्रवक्ता दमन शाहीले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका प्रत्येक पालिकामा विपन्न परिवारका लागि एक सयका दरले जम्मा एक हजार अस्थायी आवास निर्माण थाल्ने गरी विवरण संकलन भइरहेको बताए ।
कांग्रेसले नलगाड नगरपालिका- १ र ४ तथा भेरी नगरपालिका- ३ र ५ मा अस्थायी आवास निर्माण गरिरहेको छ ।शाहीका अनुसार जिल्लाभर कांग्रेसका एक सय ५० जना स्वयम्सेवक अस्थायी आवास निर्माण र भग्नावशेष हटाउन परिचालन भएका छन् ।

माओवादी केन्द्रले ८० वटा अस्थायी आवास निर्माण गरेको छ । माओवादीले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ र नलगाड नगरपालिकाको वडा नम्बर १, ४ र ७ मा अस्थायी आवास निर्माण गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । रास्वपाले १७ अस्थायी आवास निर्माण गर्दा विप्लव नेतृत्वको नेकपाले पाँच र एकीकृत समाजवादीले तीनवटा अस्थायी आवास निर्माण गरेको छ ।
खातामै थन्कियो आवास निर्माणको रकम
विभिन्न दल, दातृ निकाय तथा सहयोगी संस्थाहरूले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम गरेको भए पनि सरकारी तवरबाट हालसम्म कुनै काम भएको छैन । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिचन्द्र शर्माले प्रभावित क्षेत्रमा कति अस्थायी आवास निर्माण भए त्यसको एकीन तथ्यांक नभएको बताए ।
यतिमात्रै होइन, प्रभावित क्षेत्रका नागरिकका लागि सरकारले पठाएको अस्थायी आवास निर्माणको रकमसमेत जिल्ला विपद् व्यवस्थापन समितिको खातामा थन्किएको छ । सरकारले भूकम्पबाट क्षति पुगेका नागरिकहरूका लागि अस्थायी आवास निर्माण गर्न ५० करोड समितिको खातामा पठाएको थियो ।
स्थानीय तहले कार्यविधि अनुसार लाभग्राहीको विवरण नपठाएपछि सम्बन्धित पालिकामा आवास निर्माणका लागि रकम पठाउन नसकिएको प्रशासकीय अधिकृत शर्माले बताए । प्रभावित पालिकासँग आवश्यक समन्वय गरिरहेको उल्लेख गर्दै भूकम्पले क्षति पुर्याएका लाभग्राहीको विवरण प्राप्त हुनासाथ सम्बन्धित पालिकाको खातामा रकम पठाउने उनले बताए ।
भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० परिच्छेद २ को (१) बमोजिम अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार र पूर्ण रूपमा आवास निर्माण भए पश्चात थप २५ हजार गरी ५० हजार उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ ।

नेपाल कर्म । १३ मंसिर २०८०, बुधबार १६:०३