सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य यामालल कँडेलले पार्टीमा भएका विगतका गल्तिहरुलाई सच्याएर समृद्धिको बाटोतर्पm पार्टीलाई लैजानु पर्ने बताएका छन् । नेकपा एमालेले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ्गसम्मको पुष्पाल (मध्यपहाडी) लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा सफल पार्न एमाले ठाँटीकाँधले दैलेखले आयोजना गरेको पार्टी कार्यकर्ता भेलामा बोल्दै नेता कँडेलले यस्तो बताएका हुन् ।

‘एमालेमा कुनै गुटउपगुट छैन, हाम्रा सर्वमान्य नेता केपी ओली हुन्, हामीले तल छुट्टै गुटउपगुट बनाउनु हुँदैन, यसले पार्टी कमजोर हुन्छ,’ नेता कँडेलले भने, ‘बलियो पार्टी निमार्णमा हामी सबैको साथ र सहयोग आवश्यक रहन्छ, नेता बनाउन र बन्न मात्रै नभई जनताको सेवमा लाग्नुपर्छ भन्ने भावले तपाई हामी नेता कार्यकर्ताले बुझेर हामी माझ भएका विरोधहरूको अन्त्य गर्नुपर्छ ।’ नेता कँडेलले भावि दिनहरुमा जनताको रोजाईको पार्टी बनाउन एकजुट भएर अगाडी बढ्नु पर्ने उल्लेख गर्दै पालिकामा सबै जनसंगठनहरु गठन गर्न आग्रह गरे ।


एमाले सधैं प्रतिपक्षमा बसेर देश समृद्ध नहुने भन्दै पार्टीप्रति बढ्दो जनविश्वासलाई आत्मसाथ गरेर देश समृद्धिको यात्रा स्वरुप अभियान थालिएको उनले बताए । यस्तै, एमाले कर्णाली प्रदेश कमिटीका निवर्तमान अध्यक्ष विनोदकुमार शाहले ठाँटिकाँधमा विगतदेखि नै विजयको झण्डा गाड्न सफल हुँदै आएको उल्लेख गर्दै संगठन सुधारमा पार्टीले गरेका हरेक निर्णयलाई अक्षरश पालना गर्नुपर्ने बताए । एमालेको भिजनले बनेको मध्यपहाडी लोक मार्गको यो अभियानले आर्थिक अवस्था कमजोर भएर अवसर खोज्दै तराई झर्नेहरुका कारण पहाड रित्तो हँदै जाने परिस्थितीको अन्त्य गरेर विकासको लहर ल्याउने बाटो बन्ने दावी गरे ।
समृद्धि र राष्ट्र निर्माणको काम एमाले बाहेक अन्य दलबाट सम्भव नभएको उनको भनाई छ । यस्तै, एमाले कर्णाली प्रदेश कमिटी सदस्य सुशीलकुमार थापाले एमालेका जनमुखी कामको अन्य दलले सिको गर्दै गएको बताए । अभियानले आठबीसमा एमाले बलियो शक्ति बन्ने थापाले दावी गरे ।

नेपाल कर्म । १३ मंसिर २०८०, बुधबार १५:५९