काठमाडौँ । आज (सोमबार) र भोलि (मंगलबार) वर्षा तथा हिमपातको सम्भावना बढेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित लगभग देशभर मौसम बदली (आकाशमा बादल) भएको छ।

मौसम महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

‘तुलनात्मक रूपमा आजलाई वर्षा तथा हिमपातको सम्भावना अलि बढी देखिएको छ, भोलि पनि वर्षा तथा हिमपातको सम्भावना छ’, मौसमविद् झाले भने, ‘पर्सिबाट अलि कम हुने सम्भावना देखिएको छ।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाको बिहानी बुलेटिनअनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मौसमविद् गोविन्द झाका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम पनि बदली (आकाशमा बादल) भएको छ। ‘आजलाई उपत्यकामा वर्षाको सम्भावना खासै देखिएको छैन। भयो भने हल्का, छिटपुट होला कि’, उनले भने।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए। तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ मा महाशाखाले सार्वजनिक गर्नेछ। त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि आउनेछ।
आज र भोलि मौसम बदली, वर्षा तथा हिमपातको सम्भावना बढेकाले यी दुई दिन तापक्रम पनि केही ओरालो लाग्ने अनुमान गरिएको छ।
‘आज र भोलि मुलुकभर तापक्रममा केही गिरावट आउने देखिन्छ’, मौसमविद् झाले भने।

नेपाल कर्म । ११ मंसिर २०८०, सोमबार ०७:५९