गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिउँ पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने सुदूरपश्चिम, कर्णाली प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (आकाश छ्याङ्ग) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

चिसो बढ्दै
मौसमविद्का अनुसार अहिले देशभर चिसो बढ्ने क्रममा छ।

मौसम महाशाखाको विवरणअनुसार अहिले देशभरमा सबैभन्दा कम तापक्रम माइनस ४ दशमलव शून्य (अर्थात् –४.०) डिग्री सेल्सियस (जोमसोममा) सम्म झरेको छ। राजधानी काठमाडौँमा न्यूनतम तापक्रम ९ डिग्री आसपास चलिरहेको छ।

तपाईको प्रतिक्रिया