काठमाडौं । आगामी पुस १७ गते मानेभञ्ज्याङ गाउँपालिका ‘अध्यक्ष कप’ शुरु हुने भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले अध्यक्ष कप कोशी प्रदेश अन्तरस्थानीय तह फुटबल प्रतियोगिता २०८० पुस १७ गते शुरु भई २९ गते सम्पन्न हुने जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईका अनुसार गाउँपालिकाको आव ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमबमोजिम उक्त खेल आयोजना गर्न लागिएको हो।
उक्त प्रतियोगितामा सहभागी हुन अध्यक्ष कप सञ्चालन कार्यविधिको परिच्छेद २ को दफा (४) को बुँदा (ण) मा व्यवस्था भएअनुसार एक स्थानीय तहबाट एक टिममात्र सहभागी हुने पाउने छन्। खेल भने गाउँपालिका वडा-३ उँबुस्थित ब्वोकुला खेल मैदानमा हुनेछ।


गाउँपालिका वडा-५ का अध्यक्ष रामकुमार राईले खेलको पुरस्कार राशी भने सम्भवतः आगामी आइतबार सार्वजनिक गरिने जानकारी दिए। गाउँपालिका वडा-३ का पूर्वअध्यक्ष मेडल राईले भव्य रुपमा आयोजना गर्न खेलको लागि तीव्र गतिमा तयारी भइरहेको बताएका छन्।
‘अहिले हामी ग्राउण्डको तयारी तीव्र गतिमा गरिरहेका छौँ, यो पुस १७ गते आफ्नो टिम ल्याएर स्थानीय तहबाट सहभागी भइदिनुहुन पनि हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने।

नेपाल कर्म । ८ मंसिर २०८०, शुक्रबार १७:१२