काठमाडौँ । उन्नाइसौं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तरराष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन्।
ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै एशियाली खेलकुदमा पदकविजेता एरिका र विश्व सितोरियो कराते च्याम्पियनसिपमा पदकविजेतालाई सम्मान गरेको हो।
दुर्गम क्षेत्रमा रहेका कराते खेलाडीलाई खेलसामग्री सहयोग गर्दै आएको ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनले पदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सम्मान गरेको जनाएको छ।

एरिकाले गत असोजमा चीनको हाङचाओमा सम्पन्न एशियाली खेलकुदमा कुमुतेतर्फ महिला ६८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन्। फाइनलमा भने कजाकस्तानकी सोफिया बेरुल्त्सेभाससँग पराजित भएपछि उनी एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट चुकिन्।
गत दशौँ विश्व सितेरियो विश्व च्याम्पियनसिपमा भने नेपालले एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको थियो। सो च्याम्पियनसिपमा एरिकाले स्वर्ण जित्दा विप्लवलाल श्रेष्ठ, मोहम्मद सेखु आलम, निरुपा तामाङले रजत पदक जितेका थिए।

त्यस्तै आशिष थापा, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा, एलिसा राजकोटी मगर र सानुमाया थिङले कांस्य पदक दिलाएका थिए। एशियाली खेलकुद र विश्व च्याम्पियनसिपमा पदकविजेता खेलाडीलाई आठौं सागका स्वर्ण विजेतासमेत रहेका सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा रहेको ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनले सम्मान गरेको हो।
ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनले एरिकालाई ३० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गर्यो।
बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपालमा करातेका संस्थापक थानेश्वर राईलगायतले खेलाडीलाई सम्मान गरेका थिए। उक्त अवसरमा करातेका प्रमुख प्रशिक्षक तुल्सी महर्जन, प्रशिक्षक कुशल श्रेष्ठ, छोरीमैया डंगोल, वीरकृष्ण शाही र टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि सम्मान गरिएको थियो।
ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनले यसअघि कर्णाली प्रदेशमा सुर्खेतका डोजोमा ५० हजार बराबरको करातेका सामग्री प्रदान गरेको थियो।

नेपाल कर्म । ८ मंसिर २०८०, शुक्रबार १७:०९