सुर्खेत । हरेक वर्षझैं चिंगाड गाउँपालिकाको ठाँटी बजारमा सञ्चालन गरिँदै आएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता यो वर्षपनि आयोजना गर्न लागिएको छ । ठाँटी बजार व्यवस्थापन समितिको आयोजनामा मंसिर ११ गतेदेखि १५ गतेसम्म अन्तर पालिकास्तरीय भलिबल, नृत्य र लोकदोहोरी प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

मंसिर पूर्णिमाको अवसरमा ठाँटी लाग्ने जात्रामा अन्तर पालिकास्तरीय भलिबल र नृत्य आयोजनाका लागि सवै तयारी पूरा गरिएको प्रचारप्रसार संयोजक कृष्ण जिसी ‘कपिल’ले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार प्रतियोगिताका लागि पुरुष भलिबलमा प्रथम हुनेले एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसँगै टर्फी पाउने छन् । यस्तै, दोस्रो हुनेले टर्फीसहित ७७ हजार ७७७ र तेस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछन् । भलिबल प्रतियोगितामा सहभागी हुने टिम दर्ताका लागि ६ हजार रुपैयाँ तोकिएको संयोजक जिसीले बताए ।
भलिबल प्रतियोगितामा सहभागीहरुलाई विभिन्न विधाका पुरस्कारहरु पनि रहेको उनको भनाई छ । यस्तै, विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुनले आठ हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार पुरस्कार पाउने छन् ।

पूर्णिमा मेलाकै अवसरमा आयोजना गर्न लागिएको खुला लोक तथा खोहोरी गीत प्रतियोगितामा प्रथमले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगदसहित पुरस्कार प्रदान गरिने जिसीले बताए । खुला लोक तथा दोहोरी गीत प्रतियोगितामा सहभागीले टिम दर्ताका लागि दुई हजार शुल्क तोकिएको छ ।
स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले नृत्य र खुला लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गर्न लागिएको जिसीको भनाई छ । जात्रा एवं कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उप–समितिहरु गठन गरिएको छ ।
साँस्कृतिक संयोजकमा कृष्णप्रसाद शर्मा, खेलकुद संयोजकमा खगेन्द्र जि.सी., आर्थिक संयोजकमा नरेन्द्र बिसी, प्रचारप्रसार संयोजकमा कृष्ण जि.सी. ‘कपिल’ र स्वयंसेवक संयोजकमा प्रमोद जि.सी.लाई जिम्मेवारी दिइएको ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले जानकारी दिए ।

नेपाल कर्म । ६ मंसिर २०८०, बुधबार ११:४३