रुकुम पश्चिम । हरेक वर्ष तिहारमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरका २३ वर्षीय गोविन्द पुनको घरमा तीन दिदीबहिनी आउँथे- नेपालगञ्जबाट जेठी र माइली दिदी, जाजरकोटबाट कान्छी । यसपालि भने घरमा विपत्ती परेपछि तीनै जना चेली १८ कात्तिकमै माइतीको आँगनमा पुगे । १७ गते मध्यरातको भूकम्पले घरका चार जनाको ज्यान गएको खबरपछि अत्तालिँदै उनीहरू त्यहाँ पुगेका थिए । त्यसैले यस वर्ष तिहार आएको, गएको उनीहरूले पत्तै पाएनन् । यसअघि रमाउने गरेकाे चाडमा उनीहरू शोकको बेदना पोखिरहेका छन् ।

एउटै घरमा सुतिरहेका गोविन्दले ३१ वर्षीय दाई धनवीर, २८ वर्षीया भाउजु सुम्निमा, ८ वर्षीय भतिज यमराज र दुई वर्षीय छोरा सिद्धान्तलाई गुमाए । घर भत्किएर आधा शरीर पुरिएको अवस्थामा श्रीमती भद्रकला र उनलाई भने गाउँलेले जीवितै उद्धार गरेका थिए ।

माइती घर आइपुगेकी माइली दिदी रञ्जनाले तिहारको मुखमा माइतीमा बज्रपात परेको बताइन् । उनले भनिन्, ‘यही आँगनमा दुई दाजुभाइ, दुई भदा र हामी तीन बहिनी जम्मा भएर दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाउँथ्याैँ, तिहारको मुखमा परेको यो विपत्तिले न माइती ज्युँदो भेट्यौँ, न देउसी खेल्ने घरआँगन सग्ला छन् ।’
अरु वर्ष रेडियोमा बज्ने देउसी र भैलोका भाका उनी निकै मन पराउँथिन् । रेडियो सुनेरै पनि चाडको उमङ्ग महशुस गर्थिन् । यसपटक भने तिहारभरि रेडियोमा बजेका देउसी भैलोले मन बेचैन बनाइरह्यो उनकाे ।
समयमै उद्धार भएको भए …
१७ कात्तिकको रात छिप्पीसकेपछि पनि गोविन्दलाई निन्द्रा लागेको थिएन । मोबाइलमा भिडियो हेरिरहेका बेला एक्कासि घर हल्लियो । के भयो भनेर उठ्न नपाउँदै घर गर्ल्याम्मै ढल्यो । ठूलो ढुङ्गा खुट्टामा खस्यो र उनी थुचुक्कै बसे । त्यसपछि घरका काठ, माटो, ढुङ्गा सबै उनीमाथि खसे ।

भूकम्पको कारण दाइ, भाउजु, भतिज र आफ्नो छोरा गुमाएका गोविन्दले त्यस दिनको घटना सम्झिँदै भने, ‘त्यसबेला श्रीमती भद्रकला र दुई वर्षका छोरा सिद्धान्त पनि साथमै थिए । म र श्रीमतीमाथि केही काठ आएर अडिए र त्यसले माटो ढुङ्गालाई छेकेपछि हाम्रो टाउको जोगियो ।’
छातीभन्दा मुनिको भाग भने पुरै च्यापिएको थियो । छोरा सिद्धान्तलाई चोट लागिसकेको थियो । केही समयसम्म मम्मी-मम्मी भन्दै थिए उनी । तर बिस्तारै उनी बोल्न छाडे । अब छोरा ज्युँदो रहेन भन्ने गोविन्दलाई त्यतिबेलै लागेको थियो । आफूहरू भने हलचल गर्न नसक्ने अवस्थामा भएकोले बचाउ–बचाउ भनेर कराउनेबाहेक अरु उपाय नभएको उनी सम्झिन्छन् ।
घरको अर्को कोठामा उनका दाइ, भाउजु र भतिज थिए । त्यो बेलाको दाइले भाइसँग गुहार मागिरहेका थिए । ‘दाइको गुहार मैले सुने । मेरो गुहार दाइले सुन्नुभो । उताबाट भाइ–भाइ भनिरहनु भएको थियो । बिस्तारै उहाँ कराउन छोड्नुभयो । पछि थाहा भो, दाइ मात्र हैन, भाउजु र भतिजले पनि संसार छोडेछन्’, उनले भने ।
आधा घण्टासम्म गुहारको याचना गरिरहेका उनीहरूको चिच्याहट सुनेका छिमेकीले सकुशलै उद्धार गरे । अरुको खोजी गर्दा चार जना मृत भेटिए । गोविन्दलाई लागेको छ, गुहार सुनेर कोही उद्धार गर्न गइदिएकाे भए दाइहरू बाँच्थे होला ।
चाइनाबगर माथिको पक्रैया गाउँमा बस्ने भएकोले गोविन्दका बुवा प्रेम र आमा सुशीलाको भने ज्यान जोगिएको छ । ’ गोविन्दका बुवा प्रेमले भने, ‘घर भत्किएर सबै पुएिकाछन् रे भन्ने खबर पाएर राति नै गाउँबाट तल झरेका थियौँ, मेरा चार सन्तानको लास भैसकेको रहेछ । सडकमा लाइन लगाएका शव देखेपछि संसार ढलेजस्तो भइरहेको छ ।’
सरकारले दिएको त्रिपालमुनि उनीहरूको सिंगो परिवार बसेको छ । एक सरो कपडाको भरमा दुई साता बिताएको यो परिवारमा बिस्तारै स्वास्थ्य समस्या देखिन थालेको छ । सबैलाई रुघाखोकी छ, कसैलाई ज्वरो । उनीहरूले बेलैमा औषधि उपचार र न्यानो कपडाको व्यवस्थाको माग गरिरहेका छन् । (शिलापत्र)

नेपाल कर्म । ४ मंसिर २०८०, सोमबार ०९:०७