सुर्खेत । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। स्थानीयसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य नीरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण शनिबार थप तीन भूकम्पपीडितको मृत्यु भएको हो।
उनका अनुसार जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालिका वडा नं ४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।
योसँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ।

यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका, नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भए।
भूकम्पले आंशिक र पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ।
भूकम्पले आंशिकर पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ। यो कठ्यांग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन्।

नेपाल कर्म । ३ मंसिर २०८०, आईतवार ११:३५