सुर्खेत । १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट विस्थापित भएका जाजरकोटका १० जनाको चिसोका कारण मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमा सरेका भूकम्पपीडितहरु चिसोका कारण धमाधम विरामी पर्न थालेका छन्, भने मृत्युदर पनि बढ्न थालेको छ । जसको प्रत्यक्ष मारमा बालबालिका, सुत्केरी महिला, अशक्त तथा बृद्धबृद्धाहरु परेका छन् ।

मृत्यु हुनेमा अधिकांश दिर्घ रोगीहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपलब्ध गराएको विवरणमा जिल्लाको छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको चिसोका कारण ज्यान गएको छ । उनीहरुको शनिवार मृत्यु भएको हो ।


यस्तै, नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विक, बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४, का ८४ वर्षीय गोपालबहादुर रावलको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । १७ कार्तिकको मध्यरात बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी १ सय ५४ जनाको मृत्यु भएको थियो भने, ३५ हजारभन्दा बढी घरमा आंसिकदेखि पूर्ण क्षति हुँदा हजारौं नागरिक चिसो त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

नेपाल कर्म । ३ मंसिर २०८०, आईतवार ११:१२