सुर्खेत । प्रमुख प्रतिपक्षी दल एमालेले भूकम्प प्रभावित जाजरकोटबाट स्वयंसेवक परिचालन गरेको छ । भेरी नगरपालिका-३ स्थित माथिल्लो थाप्लेबाट शुक्रबार एमाले स्वयंसेवकहरूले भूकम्पको भग्नावशेषबाट सामान झिक्न र भत्किएका संरचना सफा गर्ने काम सुरु गरेका हुन् ।

एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा केन्द्रबाट एक सय जना स्वयंसेवक जाजरकोट पठाएको छ । स्थानीय सय थपेर दुई सय जनाबाट स्वयंसेवा सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

स्वयंसेवकलाई भूकम्पबाट भत्किएका संरचना सफा गर्ने, पुरिएका बाटो खुलाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा तथा शौचालय निर्माण गर्ने जिम्मेवारी दिइएको छ । स्वयंसेवकहरू थपिँदै एक हजार स्वयंसेवकले १५ दिनका दरले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवा गर्ने एमालेले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवा गर्न एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
एमाले स्वयंसेवकले अस्थायी टहरा बनाउँदा विपन्न, घरमा युवा नभएका, अपाङ्गता भएका, दलित र तल्लो वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने केन्द्रीय सदस्य निरज आचार्यले बताए । १७ कात्तिकमा भूकम्प गएपछि पहिलो चरणमा प्रभावित सबै गाउँबस्ती पुगेर फर्किएका आचार्यसँग बिहीबार पार्टी महासचिव शंकर पोखरेलले त्यहाँको स्थितिबारे ब्रिफिङ पनि लिएका थिए ।
एकद्वार प्रणालीका कारण संकलित राहत सामग्री सदरमुकाममा थन्किने र भूकम्पपीडित खुला आकाशमुनि भोकै सुत्नुपर्ने स्थिति आएको भन्दै राहत वितरणलाई सहज र पारदर्शी बनाउन एमालेले सरकारको ध्यानाकर्षण पनि गराएको छ । जाडोका कारण अहिलेसम्म चार जना भूकम्प पीडितको ज्यान गइसकेको छ । अशक्त, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी र बालबालिका बढी प्रभावित छन् । भूकम्पमा मृत्यु हुनेमध्ये आधाभन्दा धेरै बालबालिका थिए ।

नेपाल कर्म । २ मंसिर २०८०, शनिबार १०:४२