सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको साउथ एशियन स्कालर्स एकेडेमीले भुकम्पबाट प्रभावित भएका दुई जिल्लाका विद्यार्थीहरुलाई निःशुल्क पढाउने घोषणा गरेको छ । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका १० जना बालबालिकाहरुलाई कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने एकेडेमीले घोषणा गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–३ यरिचोक नजिकै रहेको एकेडेमीले भुकम्पबाट बुवा–आमा गुमाएका बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसहित निःशुल्क प्रदान गरेर पढाउने निर्णय गरेको छ । ‘आमा वा बुवा अथवा दुवै जना अभिभावक गुमाएका बालकालिकाहरुलाई निःशुल्क पढाउने निर्णय गरेका छौं,’ एकेडेमीका कार्यकारी प्रमुख छत्र बडुवालले नेपालकर्मसँग भने, ‘भुकम्पबाट प्रभावित बालकालिकाहरु जुनसुकै कक्षामा पढ्न चाहेपनि निःशुल्क पढाउने व्यवस्था गरेका छौं ।’


प्रभावित दुवै जिल्लाका १० जना बालबालिकाहरुले एमेडेमीसँगै ज्ञान सिन्धु सुर्खेत कलेज र भेरी एजुकेशन एकेडेमीमा निःशुल्क पढ्न पाउने निर्देशक गणेश अधिकारीले जानकारी दिए । ‘एकेडेमीको छात्रावास नभएकाले आवासीय सुविधा दिन सक्दैनौं,’ अधिकारी भन्छन्, ‘प्रभावित जिल्लाका बालबालिकाहरुले पढ्न चाहेमा उनीहरुको आवासीय शुल्क बाहेक अन्य सबै सेवा विद्यलायले नै व्यहोर्ने छ ।’
कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भुकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटका करिव एक लाख नागरिकहरु विस्थापित बनेका छन् । नागरिकका घरसँगै विद्यालयहरुमा क्षतीहुँदा हजारौं विद्यार्थीहरु प्रभावित बनेका छन् ।

नेपाल कर्म । १ मंसिर २०८०, शुक्रबार १०:०२