सुर्खेत । इन्जिनमा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान हुम्ला सिमकोट विमानस्थलमा रोकिएको छ। सोमबार बिहान सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर विमान सिमकोट विमानस्थलमा रोकिएको हो।

नेपालगन्जका लागि १४ जना यात्रुहरू भरेर एउटा इन्जिनीन सञ्चालन गरि अर्को इन्जिन सञ्चालन गर्दा उक्त इन्जिनमा समस्या उत्पन्न भएको हो।

उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले जानकारी दिए।
उनले भने, ‘नाईन एन एबियु कलसाईनको ट्वीनीटर जहाज नेपालगन्जबाट सिमकोटका लागि सोमबार बिहान १४ जना यात्रु बोकेर सिमकोट विमानस्थलमा अवतरण गरेको थियो।’

यस्तै, यात्रु सबै विमानभित्र पसेको र पाइलटहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखिएको प्रमुख हमालको भनाइ रहेको छ।
प्रमुख हमालका अनुसार विमान वरिष्ठ क्याप्टेन मनिस बिष्ट, कोपाईलट र एयरहोस्टेज रहेका छन्।
विमान प्राविधिक टोली आएर चेकजाँच गरेपछि उडान गर्ने जनाइएको छ।

नेपाल कर्म । २७ कार्तिक २०८०, सोमबार १२:३१