फुर्सदिला नेपाली : जमाली र आयुषको प्रेम हेर्न टिकटक लाइभमा सवा २ लाख झुम्मिए

अलिजेह जमाली ३ जना बडीगार्ड लिएर नेपाल आइन्

काठमाडौं । यदि नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ। जो अहिले ‘टक अफ दि टाउन’ बनिरहेका छन्। उनीहरू हुन् आयुष सिंह ठकुरी र अलिजेह जमाली। नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन्।



दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन्। उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ। टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन्।

करिब ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन्। उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो। उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन्।

टिकटक लाइभमा एक–अर्कासँग फ्लर्ट गर्दागर्दै आयुष र जमालीको लभ परेको भनिएको छ। साँच्चै परेको हो वा अभिनय गरिरहेका हुन् उनीहरू नै जानुन्। तर, आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएको चाहिँ सय प्रतिशत सत्य हो। ३ जना बडीगार्डसहितको दलबल लिएर धुमधडाकासहित आउँदा उनलाई स्वागत गर्न आयुष फूलगुच्छा बोकेर एयरपोर्ट पुगेका थिए।

 

जमाली नेपाल आएपश्चात् हिजो यो जोडी एउटै फ्रेममा लाइभ आए। उनीहरूले सँगै बसेर प्रेम गरेको हेर्न कल्पनै गर्न नसक्ने दर्शकहरू ओइरिएका छन्। एकपटकमा सवा दुईलाख सम्मले लाइभमा बसेर उनीहरूको प्रेम हेरेका थिए। गिफ्टको त बाढी नै लागिहाल्यो। एक रातमै मालामाल हुने गरी गिफ्ट पाएका छन् उनीहरूले।

नेपाल आएपछि जमालीले आयुषसँगै पूरा टाइम स्पेन्ड गरिरहेकी छन्। आयुषको परिवारले पनि उनलाई बुहारीको रूपमा स्वीकारेको देखिन्छ। लाइभमा आयुषले प्रेमिकालाई औँठीसमेत लगाइदिएका थिए।

जमाली र आयुषले अब म्युजिक भिडियोसमेत खेल्ने बताइएको छ। अहिलेसम्म बुर्काले अनुहार छोपिरहेकी जमालीलाई म्युजिक भिडियोमा अनुहार देख्न पाइएला कि भनेर उत्साहित छन् उनका ‘फ्यान’।

तपाईको प्रतिक्रिया