सुर्खेत । नेपाल प्रहरीका सहिद परिवारले तिहारलाई लक्षित गरी रोपेका फुलहरु बजारमा पठाउन थालिएको छ । बिहीवारबाट सहिद प्रहरीका परिवारको जिविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल विक्रिका लागि बजार पठाउन लागिएको हो ।
प्रहरी परिवारका लागि फूलखेती कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । सोही अनुरुप संस्थाले कर्णाली प्रदेशस्थित सुर्खेत जिल्लामा रहेका अमर सहिद तथा अशक्त प्रहरी परिवारका आश्रीत सदस्यहरूको सीप क्षमता अभिवृद्धिका साथै आय आर्जन तथा आर्थिकस्थिति वृद्धि गर्ने उद्देश्यले वीरेन्द्ररनगर नगरपालिका–५, चिसापानीमा रहेको कर्णाली प्रदेश प्रहरी गण सुर्खेतकोे झण्डै २२ कठ्ठा क्षेत्रफलमा फूलखेती गरिएको थियो ।
चालु वर्षको तिहारलाई लक्षित गरि सयपत्री तथा मखमली फूलखेती गर्न नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले तीनलाख पाँच हजार नगद अनुदान सहयोग गरेको थियो । सो फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजिकरण गर्नुका साथै सो सामुहिक फूलखेतीमा अमर सहिद प्रहरी परिवारका आश्रीत १५ परिवारहरूलाई फुलखेती सञ्चालनका लागि चाहिने आवश्यक सीप, ज्ञानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले स्थानिय कृषी शाखासँग समन्वय गरि पाँच दिनको सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गराईएको थियो ।
अमर सहिद प्रहरी परिवारको सकृय सहभागिता र परिश्रमले उक्त फूलखेतीबाट १२ लाख आर्थिक आम्दानी हुने अनुमान गरिएको छ । सो आम्दानी निजहरूले नै उपभोग गर्ने तथा निजहरूको जिविकोपार्जनमा टेवा पुग्ने अपेक्षा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले लिएको छ ।
खेर गईरहेको बाँझो जग्गामा यस्ता आयआर्जनमूलक खेती गरिनाले अमर प्रहरीका परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग पुग्ने र नेपालका अन्य ठाउँहरूमा पनि यस्ता क्रियाकलाप गर्न आवश्यक रहेको कुरा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले बताइन ।
नेपाल कर्म । २३ कार्तिक २०८०, बिहीबार १०:५४