सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन र वितरणका लागि सहजीकरण गर्दै आएको बताए पनि हालसम्म प्रदेश सरकारकातर्फबाट भूकम्प प्रभावितका लागि ठाेस राहत प्याकेज घोषणा गर्न सकेको छैन। अझ भनौँ, राहत वितरण तथा आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकार भूमिकाविहीनजस्तै छ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा प्रधानमन्त्री र संघीय मन्त्रीका साथमा प्रभावित क्षेत्रमा पुगेका छन्। तर, उनी संघकाे छायाँमा परेका छन्।
प्रभावित क्षेत्रका लागि राहत ढुवानी तथा वितरणलगायतका अन्य व्यवस्थापनमा संघीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सक्रियतामा प्रदेश सरकार भूमिकाविहीनजस्तै छ। खड्काले प्रभावित क्षेत्रमा राहत वितरण, मानवीय उद्धार तथा जनशक्ति खटनपटनलगायतका कार्यहरूमा संघीय सरकारको कमान्ड सम्हालेका छन्। खड्काले नेपाली सेनाका हेलिकोप्टरलाई प्रभावित क्षेत्रमा खटनपटन गराइरहेका छन्।

प्रभावित क्षेत्रमा आफ्नो उपस्थिति बलियो रहेको दाबी गरिरहँदा प्रदेश सरकारका कामकारबाही भने संघीय सरकारको अगाडि छायामा परेको एक नेताले बताए। संघीय सरकारका तर्फबाट उपप्रधानमन्त्री खड्काले समन्वय गरिरहेको विषय नराम्रो भने होइन तर, आफूसँग भएको स्रोतसाधनमा खड्काको तजबिजमा चल्दा पीडित नागरिकका हातमा समयमै प्रभावकारी राहत वितरणमा भूमिका खेल्न नसक्नुले प्रदेश सरकारको भूमिकाका बारेमा चर्चा भइरहेको छ।
संघीय सरकार अन्य प्रदेश र विभिन्न निकायहरूबाट प्राप्त रकम तथा राहत सामग्रीको संकलन तथा भण्डारण गरी सम्बन्धित जिल्लामा पठाउने कार्यमा आवश्यक समन्वय भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले बताए।

शाहीका अनुसार कोशी प्रदेश, स्थानीय तह, व्यक्ति तथा विभिन्न संघसंस्थाहरूले प्रदेश विपद् कोषमा जम्मा गरेको २ करोड ४५ लाख रुपैयाँ राहतस्वरुप प्रभावित क्षेत्रका पालिकामा पठाएको छ। प्रदेश सरकारले मंगलबार जाजरकोट, रुकुम पश्चिम र सल्यानका गरी १६ वटा पालिकालाई २ करोड ४५ लाख रकम पठाएको कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका सातवटा स्थानीय तहमा १ करोड २० लाख, रुकुम पश्चिमका भूकम्प प्रभावित छवटा स्थानीय तहमा १ करोड र सल्यान जिल्लाका तीनवटा स्थानीय तहका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित पालिकाहरू जाजरकोटको भेरी नगरपालिकामा २५ लाख, नलगाड नगरपालिकामा २५ लाख, बारेकोट गाउँपालिकामा २५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख र शिवालय गाउँपालिकामा ५ लाख रकम पठाइएको छ।
यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई २५ लाख, सानोभेरी गाउँपालिकालाई २५ लाख, चौरजहारी नगरपालिकालाई २० लाख र त्रिवेणी गाउँपालिकालाई २० लाख रकम पठाइएको हो। भूकम्पबाट प्रभावित सल्यानका तीन पालिकाहरू दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।

नेपाल कर्म । २२ कार्तिक २०८०, बुधबार १६:१२