भूकम्प प्रभावित जिल्लामा एमालेको बैठक

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पदाधिकारी बैठकले जाजरकोट र रुकुमपश्चिमको आठबिसकोटमा बैठक गर्ने निर्णय गरेको छ।मंगलबार वीरेन्द्रनगरमा बसेको पदाधिकारी बैठकले भूकम्पपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन पालिकास्तरमा बैठक गर्ने निर्णय गरेको हो।



प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार कात्तिक २३ गते जाजरकोट र २५ गते बिहान रुकुम पश्चिमको आठबीसकोटमा बैठक हुनेछ।  बैठकमा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी र सम्बन्धित पालिका कमिटी अध्यक्षको सहभागिता रहेनछ।

प्रदेश अध्यक्ष शाहले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण, पुनःस्थापनाका कामलाई सहयोग गर्ने उद्देश्यले बैठकको तयारी गरिएको बताए।

‘बैठकमा सहभागी हुने सबै पार्टीका नेताहरुलाई भूकम्पप्रभावित बस्तीमा राहत वितरण, उद्धार र पुनःस्थापनाका कार्यमा जोड्नलाई बैठक बोलाइएको हो,’ उनले भने, ‘राहत र पुनःस्थापनाको काम स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक सहभागी हुन निर्देशन गरिएको छ।’

बैठकले जाजरकोट भूकम्पमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराती गएको ६‍.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया