जाजरकाेटकाे रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् ।
ती जिल्लास्थित प्रहरीका अनुसार, जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको भूकम्पमा घर भत्किएर मृत्यु भएको हो । जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पमा परी ३६ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा धेरै घाइते भएको पुष्टि गरेका छन् ।


सबैभन्दा धेरै क्षति नलगाड नगरपालिकामा भएको छ । त्यहाँ एउटै वडामा २० जनासम्मको मृत्यु भएको छ भने नगर उपप्रम्रख सरिता सिंहको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ।
घाइतेहरूकाे जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको डीएसपी रोकाले बताए । घाइतेमध्ये ७ जनाको स्थिति गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।
भूकम्पपछि जाजरकोटमा ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।

मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए । उनले भने, ‘यो अहिलेसम्म पुष्टि भएको विवरण हो । घटनाको सूचना संकलन गर्ने र उद्दारको काम भइरहेको छ ।’
आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार ०६:२०