भारतमा भएकाे दुर्घटनामा परि सुर्खेत चौकुनेका एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत । भारतमा दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी उनिहरुको मृत्यु भएको हो।



मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन्।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको आफन्तको भनाइ रहेको छ।

चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए। उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए। भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो।

रतनको परिवार सबै एउटै बाइकमा सवार थिए।

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए।

धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो। सुस्मिताका श्रीमान पनि भारतमै छन्।

यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमला बताउँछन्।

तपाईको प्रतिक्रिया