खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको २४औँ साधारण सभा सुर्खेतमा

सुर्खेत । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) को २४औँ केन्द्रीय वार्षिक साधारण सभा सुर्खेतमा हुने भएको छ।



कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार (कार्तिक १७) गते हुने भएको हो।

साधारण सभामा देशका ६० भन्दा बढी जिल्लामा बसोबास गर्ने खप्तडी बुढाथोकीको प्रतिनिधिमूलक सहभागिता रहने समाजका केन्द्रीय सचिव जगत बिसीले जानकारी दिए।

उनका अनुसार ‘कुल वंशको रक्षा गरौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नारासहित साधारण सभाको आयोजना गरिएको छ।

साधारण सभा सम्पन्न गर्नका लागि मूल आयोजक समिति, प्रचारप्रसार समिति, हल व्यवस्थापन समिति, जलपान व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, स्वागत, समान लगायतका समितिहरु समेत गठन गरिएका छन्।

यस्तै, समाजको कर्णाली प्रदेश प्रथम साधारण सभा समेत हुने छ।

नेपालका जातीय वर्गीकरणअनुसार क्षेत्रीय जातमा पर्ने थर बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी विशेषत नेपालीहरूको थर हो।

खप्तडी बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन्। बुढाथोकीहरू कर्णाली प्रदेशहुँदै नेपालका प्रायः सबै जिल्लामा बसोबास गर्दछन्। पूर्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ।

नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला, अछाम, दैलेख, सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ।

बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झैँ खप्परमष्ट पुजक हुन्। बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन्। नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन्।

तपाईको प्रतिक्रिया