समाज

सामान्य विवादमै विभत्स हत्या हुनेक्रम बढ्दो, कता जादैछ समाज ?

सुर्खेत ।



घटना: १ शुक्रबार मुगुमा एकै परिवारका चार जनाको घाटी रेटेर विभत्स हत्या भयो । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

मृतकहरूमा वर्ष २६ कि आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर रहेका छन् । घटनापछि प्रहरीले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान थालेको छ । अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विषेश अनुसन्धान टोली घटनास्थलमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानले रिसइवीका कारण धारिलो हतियार र ढुंगा प्रयोग गरी हत्या गरिएको हुन सक्ने आशंका गरेको प्रहरी घटनाको नजिक पुगेको बताइएको छ । प्रहरीले शंकास्पद केही व्यक्तिहरूलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

वैदेशिक रोजगारीमा रहेका श्रीदेवीका श्रीमान् शनिबार मुगु पुगेपछि मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइत गएकी थिइन् । कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटना: २

रुकुम पश्चिमको खलंगास्थित सत्कार होटलको कोठा नम्बर १ मा ३० असोजमा एक युवतीको शव फेला पर्‍यो । शंकास्पद अवस्थामा भेटिएको शवको पहिचान प्रहरीले मुसीकोट नगरपालिका–७ साँखाकी २८ वर्षीया भावना विकको रुपमा गर्‍यो । भावना मुसीकोट नगरपालिका–१, छिङस्थित माइती घरमा बस्दै आएकी थिइन् ।

भावनाको गला रेटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका लागि नेपालगन्जस्थित केनाई शाखाबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटियो ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८ सय ३५ रुपैयाँ र मोबाइल फोन बरामद गरेर अनुसन्धान थाल्यो । घटनास्थलबाट बरामद भएको मोवाइलको जब प्रहरीले कल डिटेल निकाल्यो तब प्रहरीले अचम्मको तथ्य फेला पार्‍यो ।

उक्त कल डिटेलमा २५ दिनको अवधिमा भावना र एक युवकसँग एक सय २४ पटक सम्पर्क भएको तथ्य प्रहरीले पत्ता लगायो । कल डिटेलका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरी भावनासँग फोन सम्पर्कमा रहेका सानीभेरी नगरपालिका–९, का लोकेन्द्र भनिने लोकबहादुर विकको खोजीमा जुट्यो ।

प्रहरी अभियुक्त विकलाई खलंगास्थित आफ्नै कोठाबाट पक्राउ गर्न सफल भयो । पक्राउ परेका विकमाथि प्रहरीले अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानमा विकले भावनाको घाटी रेटेर हत्या गरेको स्वीकारेपछि प्रहरीले ३ कार्तिकमा विकलाई सार्वजनिक गरेको थियो ।

विक ती व्यक्ति हुन् जसलाई गत असोज ३ गते संविधान दिवसका अवसरमा चालचलन राम्रो भएको भन्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएका थिए ।

लोकेन्द्रले उनीहरूबीच अनैतिक प्रेम सम्बन्ध रहेको र भावनाको बिहे गर्ने प्रस्तावले विवाद बढेपछि घाटी रेटेर हत्या गरेको स्वीकारेको अनुसन्धानबाट खुलेको थियो ।

घटना: ३

गत ३० भदौको राति सल्यानको त्रिवेणी गाउँपालिका–२, काँरागिठीमा आमाछोरीको शव जलेको अवस्थामा फेला परेको थियो । जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर–२, झालेढुंगास्थित थापा टोल बस्ने सुकलाल थापाको टिनले छाएको एकतले कच्ची घरमा थापाकी श्रीमती वर्ष २९ की रेवती थापा र उनकी छोरी ९ महिनाकी रितु थापा सुतेका थिए ।

बिहान अबेरसम्म आमाछोरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएपछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा खबर गरेका थिए । स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरे पनि घटनाको प्रकृतिअनुसार प्रहरीले हत्या भएको हुन सक्ने निष्कर्ष निकाल्दै सूक्ष्म अनुसन्धान थालेको थियो ।

घटना भएलगत्तै प्रहरीले रेवतीले प्रयोग गरेको मोबाइलबाट केही सुराक पत्ता लगाएको प्रहरीले उक्त घटनामा संलग्न सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँ स्थायी ठेगाना भएका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई ३ असोजमा सार्वजनिक गरेको थियो ।

आरोपित कर्णबहादुर बस्नेतले मृतक रेवती थापासँग पुरानो रिस साँध्नलाई विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपित बस्नेतको मृतक रेवती थापासँग झण्डै सात वर्षअघि फेसबुकमार्फत चिनजान भएको र कुराकानी हुँदै जाँदा गहिरो प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनीहरूबीच प्रेम सम्बन्ध चलिरहेकै बखत आरोपित बस्नेत वैदेशिक रोजगारीमा सन् २०१८ मा दुबई उडेका थिए । उनी दुबईमा रहँदा रेवतीले सोही ठाउँका सुकलाल थापासँग विवाह गरेकी थिइन् । सोही विषयलाई बस्नेतले धोका र इगोको रूपमा लिएपछि घटना भएको प्रहरीले बताएको छ ।

घटना: ४

महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेकै बेला २० मंसिर २०७९ मा सुर्खेतमा भएको एक घटनाले सबैको ध्यान तान्यो । जिल्लाको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेले प्लास्टिकको झोला बोकेर हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

स्थानीयले अस्वाभाविक तवरको झोला देखेपछि प्रहरीलाई खबर गरे । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले आलेलाई पक्राउ गरेपछि उक्त झोलाको वास्तविकता खुल्न पुग्यो । आलेले बोकेको प्लास्टिक झोलामा अरु केही नभई आफ्नै ३० वर्षिया श्रीमती मीना आलेमगरको टाउको थियो ।

सामान्य पारिवारिक झै झगडाको विषयलाई लिएर आलेले हँसिया (आँशी) को प्रयोग गरी आफ्नै घरको दोस्रो तलामा श्रीमतीको घाँटी रेटेर निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । आले हाल सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन् ।

घटना: ५

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारीस्थित सोतीगाउँमा प्रेमिका लिन गएका जाजरकोटका नवराज विक र उनका अन्य ५ जना साथीहरूको सपना भने भेरीमा विलिन भएको तीन वर्ष पुग्यो ।

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराजसहित गणेश बुढा मगर, सञ्जु विक, भेरी नगरपालिका वडा न. ११ मटेलाका लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका वडा न. १ रुकुम पश्चिमका टिकाराम नेपालीको सोतीका गाउँलेहरूले लेखेटेर कुटपिट पश्चात हत्या गरी भेरीमा बगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

उल्लेखित घटना व्यक्तिगत रिसइवी र सामान्य कुरा सहन गर्न नसक्दा विवाद बढेर विभत्स हत्यासम्म पुगेका केही प्रतिनिधिमुलक घटना हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभर ४० जनाको हत्या भएको उल्लेख छ । चालु अर्थिक वर्षको असोज मसान्त अर्थात् तीन महिनाको अवधिमा प्रदेशभर १२ जनाको हत्या भएको छ ।

प्रहरीको यो तथ्यांकमा सुर्खेत र सल्यानमा सबैभन्दा धेरै हत्याका घटनाहरू भएको देखिन्छ । पछिल्लो समय कर्णालीमा मात्रै नभई देशैभर सामान्य विवादमा पनि मानिसहरू हिंस्रक प्रवृत्तिमा उत्रिहाल्ने क्रम बढ्न थालेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मानिसहरू सानोसानो कुरामा पनि आइपर्ने परिस्थितीको आँकलन गर्न नसक्दा आवेगमा आएर गरिने क्रियाकलापले समाज अराजकतातर्फ धकिलिदै गएको प्रति बेलैमा सचेत रहनुपर्ने सरोकारवाला बताउँछन् ।

बढ्दो वेरोेजगारी, एकात्मक परिवार, आर्थिक, सामाजिक, राजनीतिक तथा शिक्षा, अनैतिक सम्बन्ध आदि जस्ता धेरै कारणले पनि यस्ता घटनामा पृद्धि हुँदै जान थालेको प्रहरीको तथ्यांकले देखाउँछ ।

तपाईको प्रतिक्रिया