दैलेख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी र अमेरिकी साम्राज्य नेपालको मुख्य सत्रु भएको औलाएका छन्। शुक्रबार दैलेखको दुल्लुमा सुरु भएको नेपाल क्रान्तिकारी शिक्षक संघको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गदै गोसाईले यस्तो बताएका हुन्।

उनले भारत स्वतन्त्र नहुँदै तयार पारिएको भारतको विदेश नीति नेहरु डक्ट्रिनमा नेपाललाई भारतमा गाभ्ने होइन भने आफ्नो प्रभुत्वमा राख्ने नीति लिएको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर नेपाललाई उपनिवेश बनाउन खोजेको तर्क व्यक्त गरे। उनले भने, ‘नयाँराष्ट्रपतिमार्फत नागरिकता ऐन लागु गर्न खोजिएको भन्दै त्यसो गरिए नेपालको सार्वभौमिकता संकटमा पर्नसक्छ। कुनै पनि बेला आन्दोलन तथा संघर्ष गर्न शिक्षकहरु तयार हुनुपर्छ।’

केन्द्रीय सदस्य गोसाईले भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट देशघाती सम्झौता हुनसक्ने भन्दै फुकोट कर्णाली जलविद्युत् आयोजना भारत सरकारको स्वामित्वमा भएको कम्पनीलाई दिने तयारी गरिएकोप्रति खेद प्रकट गरे।
यस्तै, नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले थोरै समयमा अकुत सम्पत्ति कमाउने कांग्रेस, एमाले तथा माओवादी पार्टीहरुले राज्यको दोहन गरिरहेको भन्दै ती शासक दलहरुको निम्ति नेमकिपा चुनौति बनिरहेको तर्क दिए।

नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले शासक दलहरुले उपचार र आर्थिक सहयोगको नाममा राज्यकोषको दोहन गरिरहेको भन्दै पार्टीलाई धोका दिनेहरु अहिले हिनताबोधबाट ग्रस्त भएको भनाइ राखे।
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षामा नवउदारवादकै कारण अहिले नेपाली विश्वविद्यालयका कलेजहरु बन्द हुनगएको भन्दै नेमकिपाले सुरुदेखि नै नवउदारवादको विरोध गरिरहेको बताए।
नेक्राशिसंघ, सातौँ दैलेख जिल्ला सम्मेलन तयारी समितिका संयोजक मनोज दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेमकिपा, दैलेख जिल्ला समितिका अध्यक्ष जगत ओली, नेमकिपा, दुल्लु नगर समितिका अध्यक्ष लक्ष्मीकुमार विक, नेक्राशिसंघ दैलेखका सल्लाहकार हस्तबहादुर गुरुं, नेक्रामहिला संघ दैलेखका अध्यक्ष कुमारीरुमा गुरुं, नेक्राकिसंघ सुर्खेतका अध्यक्ष पुष्प रानामगर, कानुन अध्ययन समाजका शिवराज दाहाल, नेक्राविसंघ दैलेखका अध्यक्ष केसव शाही, नेक्राकिसंघ दैलेख जिल्ला सचिव जयबहादुर थापा, आयोजक समितिका सदस्य दीपक शाही, नेक्राशिसंघका बासुदेव बुढाले मन्तव्य राखेका थिए।

नेपाल कर्म । १४ जेष्ठ २०८०, आईतवार १९:५४