नमस्कार शाह | पाओसान (चीन) । विकसित राष्ट्र चीनको दक्षिणी प्रान्त युनानमा खुला नृत्यलाई विशेष प्राथमिकता दिइएको छ । ब्यायामको रूपमा खुला सामूहिक नृत्यलाई प्रदेश सरकारले प्राथमिकता दिँदै खुला पार्कहरू निर्माण गरेको छ । ती पार्कहरूमा स्थानीयहरू बिहान-बेलुका स्थानीय संस्कृतिअनुरुपका फरक-फरक नृत्यमा रमाउँछन् ।

कुनमिङ शहरमा रहेको पाङलोङ नदीवरपर र छेउमै रहेको पार्कमा हरेक साँझ सामूहिक नृत्य हुने गरेको छ । काठमाडौंमा बामगती नदीको जस्तै झल्को दिने पाङलोङ नदी र छेउछाउका पार्कमा सम्साँझै मान्छेहरू जम्मा हुन थाल्छन् र खुला पार्कमा परम्परागत नाच नाच्छन् । उनीहरू आ-आफ्नो समूहमा स्थानीय संस्कृति झल्किने नाचहरूमा मस्त हुन्छन् । अबेर रातिसम्म नाच्नु, रमाउनु उनीहरूको दिनचर्या हो ।

ती नृत्य नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने र खेलिने देउडा खेल (गीत) सम्झाउने खालका हुन्छन् । गोलाकारमा लहरै उभिएर दुई स्टेप दायाँतिर गोडा सार्दै १ स्टेप अगाडि गरेर खेल्दै नाचिने स्थानीय परम्परागत नाचमा प्रायः ज्येष्ठ नागरिकहरू मस्त हुन्छन् । यसबाट मनोरञ्जन र ब्यायाम मात्र भएको छैन, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनसमेत भएको छ । साथै, ज्येष्ठ नागरिकहरूको आत्मसम्मान अभिवृद्धि हुनुका साथै आत्मसन्तुष्टिसमेत बढेको छ ।
खुला नाचको चीनमा लामो इतिहास छ । वसन्त र शरदको अवधिमा इसापूर्व तेस्रो शताब्दीमा संकलित विश्वकोश लुशी चुन्किउले सम्राट याओको पालामा दुई सहस्राब्दीअघि आफ्नो मांसपेशीलाई पुनर्जीवित गर्न मानिसहरूले बिस्तारै नाच्न थालेको इतिहास छ । काम र घरभित्र सीमित भइरहँदा विभिन्न रोगहरू निम्त्याउने भएकाले मांसपेशी र हड्डीहरूलाई बलियो बनाउन, थकानबाट छुटकारा पाउन नृत्यलाई ब्यायामसँग जोडिएर खुला नृत्यको परम्परा थालिएको चिनियाँहरू बताउँछन् । आधुनिक स्क्वायर नृत्य प्रायः खुला स्थानमा हुने बताइन्छ ।
आधुनिक स्क्वायर नृत्यको उत्पत्ति १९६०-७० को दशकको सुरुमा चीनमा फैलिएको सांस्कृतिक क्रान्तिबाट पत्ता लगाइएको थियो । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले चिनियाँ गृहयुद्ध जितेर जनवादी गणतन्त्र चीनको स्थापना गर्यो । त्यसको एक दशकपछि चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले चिनियाँ अर्थतन्त्रको औद्योगिकीकरणलाई गति दिन ग्रेट लिप फर्वार्ड आर्थिक विकासको पहल सुरु गरे । त्यतिबेला अधिकांश चिनियाँहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका थिए, उनीहरू निराशामा थिए । उनीहरूमा उत्साह जगाउन र मनोरञ्जनको वातावरण सिर्जना गर्न खुला स्थानमा नृत्य गर्न सुरु भएको बताइन्छ ।
जनवादी गणतन्त्र चीनमा, वर्ग नृत्य, प्लाजा नृत्य (पब्लिक स्क्वायर डान्स), स्क्वायर, प्लाजामा नृत्य गरिन्छ । जसलाई चिनियाँहरू संगीतका लागि गरिने ब्यायामको दिनचर्या भन्छन् ।

शहरहरूको पार्कहरूलाई सरकारले नै खुला नृत्यका लागि सुरक्षासहितको व्यवस्था गरेको हुन्छ । खुला पार्कमा हुने नृत्य मध्यम उमेर र सेवानिवृत्त व्यक्तिहरूमाझ लोकप्रिय छ ।
ब्यायामका लागि नृत्य सम्राट याओको चीनमा सहस्राब्दीपहिले विकसित भएको रूपमा रेकर्ड गरिएको छ । सोङ राजवंशको समयमा शहरका सार्वजनिक स्थानहरू प्रदर्शनको प्रयोगका लागि प्रख्यात थिए । पार्कहरूमा स्थानीयहरू स्वस्फूर्त रूपमा जम्मा भएर विभिन्न प्रकारका संगीतमा नाचिरहेका हुन्छन् ।
सन् १९९० को दशकको मध्यमा सुरु भएको यो परम्परा स्थानीयहरूलाई व्यस्त राख्न र नागरिकहरूलाई मनोरञ्जन दिन भए पनि यसको लोकप्रियताका बावजुद स्क्वायर नृत्यले चीनमा साँझ वा बिहानको समयमा ध्वनि प्रदूषण गरेको भन्दै सन् २०१० मा जनगुनासो बढेको थियो । चीनको बढ्दो जनसङ्ख्या भएका शहरहरूमा नर्तकहरू सार्वजनिक क्षेत्रमा भेला भएर विवाद हुने देखिएपछि धेरै पार्कहरू निर्माण गरेर सार्वजनिक नृत्यलाई ध्वनि व्यवस्थापन हुने गरी सुचारु नै गरियो ।
यस कार्यबाट स्थानीय संस्कृतिको जगेर्ना, शारीरिक अभ्यासको विकास हुनुका साथै स्वच्छ मनोरञ्जन प्रवाह भइरहेको छ । यस्तो वातावरण के सांस्कृतिक रूपमा धनी मानिने नेपालमा सुरु गर्न सकिँदैन ?
नेपालका धेरै गाउँमा ज्येष्ठ नागरिकहरूका लागि खेल्ने र अनुभव आदानप्रदान गर्ने थलो छैन । त्यसको माग भइरहेको छ । चिनियाँ यो परम्परा नेपालका लागि पनि राम्रो अनुभव हुन सक्छ । खुला पार्क बनाइदिने हो भने धेरै ज्येष्ठ नागरिकले स्तरीय समय बिताउने र आफ्ना अनुभव सुनाउने माैका पाउन सक्छन् । परम्परा र संस्कृति जगेर्नाका दृष्टिले पनि फलदायी हुन सक्छ । (शिलापत्र)

नेपाल कर्म । १५ कार्तिक २०८०, बुधबार १०:४३