चितवनका पत्रकार किशोर खनालको समाचारले जित्यो पहिलो पुरस्कार

काठमाडौँ । चितवनका पत्रकार किशोर खनालको समाचारले ‘लेडको प्रयोगले बालबालिकाको सर्वाङ्गीण विकासमा असर’ भन्ने शीर्षकमा पहिलो पुरस्कार जितेको छ।



बालबालिकाले प्रयोग गर्ने विभिन्न किसिमका खेलौना तथा पेन्ट्सहरुमा लेड (सिसा) को अत्यधिक प्रयोग भइरहेको र यसले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पारिरहेको विषयमा खनालले फिचर समाचार लेखेका थिए।

पहिलो पुरस्कार जितेका खनाल नगद २० हजार रुपैयाँ र सम्मान पत्रबाट सम्मानित हुँदैछन्। दोस्रो पुरस्कार बुटवलका लक्ष्मण पोखरेलले जितेका छन्। तेस्रो पुरस्कार जनकपुरका सुभाष कर्णले जितेका छन्। सान्त्वना पुरस्कार जित्नेमा वीरगन्जकी माधुरी महतो र काठमाडौँका नवराज अधिकारी रहेका छन्। दोस्रोले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार र सान्त्वना पुरस्कार जित्नेले नगद ५-५ हजार प्राप्त गर्नेछन्।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र ललितपुरले उत्कृष्ट हुनेहरुलाई लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको अवसरमा सम्मान गर्न लागेको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले यही २७ अगस्तदेखि १५ अक्टोबरसम्मको अवधिमा राष्ट्रिय पत्रिका तथा अनलाइनहरुमा लेडयुक्त पेन्ट्स, लेड विषाक्तता, बचावटसम्बन्धी प्रकाशित भएका समाचारलाई संकलन गरी उत्कृष्ट हुने पाँच जना पत्रकार छनोट गरेको हो।

केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले लेडसम्बन्धी सचेतना सप्ताहको अवसरमा उनीहरुलाई सम्मान गरिने बताए।

तपाईको प्रतिक्रिया