सुर्खेत । मुगुमा चार जनाको सामुहिक विभत्स हत्या भएको चार दिन पुगेको छ । शुक्रवार जिल्लाको छायानाथरारा नगरपालिका–६ मुन्दु गाउँमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा उनका छोराहरु ११ वर्षिय मनोज, आठ महिनाका रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको विभत्स हत्या गरेको थियो । कार्तिक ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले १० गते शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारै जनाको विभत्स हत्या गरिएको अवस्थामा गाउँलेहरूले देखेका थिए ।

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा शनिवार घर पुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्व चार घण्टाको दुरीमा छ । पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याइएका आफ्ना श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागुन्जेल शव नबुझ्ने अडान लिएपछि पोष्टमाटमसमेत हुन सकेको छैन । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

शनिवार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगन्ज) बाट तालिम प्राप्त कुकुरसहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोलीले घटनास्थलमा विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ । आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थलमा पुगेका छन् । घटना घटेको पुरै गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएको भएपनि हालसम्म खास क्लु भने प्रहरीले भेटाउन सकेको छैन । केही व्यक्तिलाई घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उच्च निगरानीमा राखेको प्रहरीले उनीहरुविरुद्ध बलियो प्रमाण भने जुटाउन सकेको छैन ।

अनुसन्धानमा प्रयोग गरिएका कुुकुरलेसमेत घटनासँग समन्धित कुनै सुराक फेला पार्न सकेका छैनन् । यद्यपी आइतबार एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भने गरेको छ । परिचय गोप्य राखिएका ति व्यक्ति केही दिन यता मुन्दु गाउँमा पटक पटक आउजाउँ गरेको पाइएकाले सोधपुछका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । घटनाको प्रकृति अनुसार श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोवाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढोकामा नयाँ ताला लगाइएको तथा घटना पश्चात कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई श्रीदेवीले प्रयोग गर्दै आएको मोवाइको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको खुलेको अनुसन्धानमा संलग्न ति अधिकृतले बताए । जिल्ला प्रहरीका कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले हालसम्म पनि घटनामा संलग्न व्यक्तिका बारेमा ठोस प्रमाण फेला परि नसकेको बताए । अनुसन्धान जारी रहेकाले प्रमाण फेला पर्ने बित्तिकै पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए ।

नेपाल कर्म । १३ कार्तिक २०८०, सोमबार १३:१०