सुर्खेत । नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँपालिकाका गाउँ कमिटी हुम्लाका अध्यक्ष अकविर खड्काको दुर्घटनामा परेर मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन् । वीरेन्द्रनगरस्थित रत्न राजमार्गको बुलबुले गेट नजिकै गएराती खड्का सवार मोटरसाईकल जीपमा ठक्कीएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्काको माया नर्सिङ्ग होमपछि कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको थियो । खड्का सवार कर्णाली प्रदेश ०२००१ प ७८७४ र सोही दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जीपमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ताँजाकोट गाउँपालिका–१ हुम्लाका स्थायीबासी खड्काको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो वीरेन्द्रनगरको बसपार्क अगाडी र एयरपोर्ट चोकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् । उचित क्षतीपूर्तीको माग राख्दै सडकमा टायर बालेर अवरुद्ध गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।


जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षसँग वार्ता जारी रहेपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको ताँजाकोट गाउँपालिकाका पूर्व अध्यक्ष बागदल मल्लले नेपालकर्मलाइ जानकारी दिए । उनकाअनुसार कम्तीमा १५ देखि २० लाख राहत दिनुपर्ने पीडित पक्षको अडान रहेको बताए । तर गाडीधनी कानूनअनुसार मात्रै क्षतीपूर्ती व्यहोर्ने बताएपछि वार्ता निष्कर्षविहिन जस्तै बनेको उनको भनाई छ ।
स्थानीय प्रशासनसँग पनि गाडीधनीले कानूनअनुसार पाँच लाख रुपैयाँ मात्र दिन सकिने अडान राखेका छन् । प्रशासनले वार्ताका माध्यमबाट सहमति गराउने प्रयास जारी राखेको जनाएको छ । यद्यपी, पीडित पक्षहरुले सोमबार विहान छलफल गरेर कसरी अघि बढ्ने भन्ने गृहकार्यमा रहेका छन् । प्रहरीले जीप चालक र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिएको छ ।

नेपाल कर्म । १४ जेष्ठ २०८०, आईतवार १९:४२