तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली मुगुमा

सुर्खेत । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएपछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ ।
शुक्रवार जिल्लाको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरीको विभित्स अवस्थामा शव फेला परेको थियो ।
उक्त घटनाको थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) बाट कुकुरसहित प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विषेश अनुसन्धान टोली घटनास्थल पुगेको हो ।
अनुसन्धान टोली घटनास्थल पुगेपछि शव उठाउने तयारी भइ रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसवीका कारण घटना घटेको आशंका गरिएको छ । डीएसपी थापाका अनुसार शंकास्पद केही व्यक्ति माथी उच्च निगरानीका साथ सुक्ष्म अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया