आज बडादसैँ, टीकाकाे उत्तम साईत विहान ११ बजेर २ मिनेटमा

काठमाडौ । आज मंगलबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।



टीका–जमरा ग्रहण गर्ने शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार बिहान ११:०२ बजे उत्तम साइत रहेको जनाएको छ । आज टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १० बजेर ३७ मिनेटको साइत तोकिदिएको छ ।

विजया दशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत छ । आज टीकाको दिन कसैलाई टाढा जानुपर्ने अवस्था भए बिहान झुल्के घाममै दुर्गा विसर्जन गरेर टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन पनि रहेको छ ।

तपाईको प्रतिक्रिया