पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्युु, चालक गम्भीर घाइते

काठमाडाै । पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ ।



मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नगरपालिका–१६ रजहरका बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठाउँका ३५ वर्षीया सविता धिताल, सोही ठाउँका ११ वर्षीय सविस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्की एक जना लमजुङ बेसीशहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।

आइतबार अपराह्न करिब ४ बजे तानसेन–१३ स्थित बैकुण्ठे भीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी निरीक्षक चन्दले जानकारी दिए । दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।

तपाईको प्रतिक्रिया