वर्षाैदेखि उध्रिएको छानोमा दसैँ

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट करिब ५ किलोमिटर पश्चिम वीरेन्द्रनगर र बराहताल गाउँपालिका सिमाना । दैनिक हजारौं घुइकिने गाडी कर्णाली राजमार्गको छेउ गिरीघाट दसैँमा पनि सुनसान छ । चारैतिर घना जंगल, वसन्त ऋतुसँगै पलाएका पालुवा । चिरविर चराचुङ्गीको आवाज । दायाँ–बायाँ खोला छेउमै कर्णाली राजमार्ग । त्यही राजमार्गको छेउमै विगत नौ वर्षअघि (२०७१ सालमा) आएको बाढीका कारण विस्थापित बन्न पुगेका बराहताल–२, को रानिघाट, थापाडेरा, डोप्का, सिस्नेरी र पाग्माका बाढीपीडित बसोबास गर्दछन् । न त उनीहरुको गर्जो टार्ने गतिलो मेसो छ न त घर नै । भेरी नदीमा आएको बाढीले घरसहित जग्गा बालुवाको बगरमा परिणत गरिदियो । भएको जग्गा जमिन बगर भएपछि करिब दुई सय घरपरिवार अहिले रोगभोगसँग लड्दै गिरीघाटमा आफ्नो जीविका चलाउँदै आएका छन् ।



बडादसैँको रौनकता चौतर्फी छाएको छ । सहर–बजारबाट मात्र होइन, घर परिवारको जीविकाका लागि देश नै छोडेर परदेशिएकाहरूसमेत गाउँघर फर्केका छन् । हुने खानेदेखि हुँदा खानेसम्म सबैले आ–आफ्नो क्षमताअनुसार दसैँ मनाउने तयारीमा छन् । तर, वीरेन्द्रनगर–१ को सामुदायिक वन क्षेत्र गिरीघाटमा बसिरहेका बाढीपीडित वस्तीमा भने अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत नौ वर्षयता उनीहरूका लागि दसैँमा कुनै उमङ्ग नै आएको छैन ।

२०७१ सालमा आएको बाढीले सयौँलाई घरबारविहीन बनायो । कैयन्ले परिवारका सदस्य र आफन्त गुमाए । दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटना भएको नौ वर्ष बित्यो । अझै पनि गिरीघाट वस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि उनीहरू टहरोकै व्यवस्थापन र बिहान–बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् । आफन्तले घर भरिन्थ्यो, टिका र आशीर्वाद थाप्नेको भीड हुन्थ्यो, बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । नौ वर्ष अघिसम्म सन्तकला कार्कीको घरमा दसैँले यस्तै उमङ्ग ल्याउँथ्यो । तर अहिले दसैँको कुनै अनुभूति नै हुन सकेको छैन । उनले भनिन्, ‘बिहान बेलुका छाक टार्नै मुश्किल हुन्छ । कसरी दसैँ मनाउनु ? पीडा र ऋणको भारीले थिचेको छ ।’

शिविरमा बस्दै आएका गोपाल विकले पालपुनी कष्टकर रूपमा थुप्रै दसैँ मनाइसकेको बताए । उनी भन्छन्, ‘अझै कति दसैँ मनाउन पर्ने हो थाहा छैन ।’ ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका उनलाई दसैँले छोएको छैन । ‘दसैँ–तिहार आयो, घरमा छाक टार्न धौ–धौ छ, केटाकेटीले नयाँ लुगा किन्दिन भन्छन्, मिठो मसिनो खान खोज्छन्’ उनले भने, ‘घरमा एकसुको पैसो छैन, के गरेर दसैँ तिहार मनाउने ?’ २०७१ साल साउन ३० गते आएको टोपबहादुर सिजालीको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्न थालेको नौ वर्ष पुग्यो । ‘समस्या ज्यूँका त्यूँ छन् । चार्डपर्व आउँदा झनै समस्या हुने गरेको छ । जमरा राख्ने ठाउँसमेत छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनू ?’ उनी भन्छन्, ‘२०७१ सालयता हामीले चाडपर्व मनाउन पाएका छैनौँ । समस्या नै समस्या छ ।’

विस्थापित भएकै एक दशक पुग्न लागिसक्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, बिहान बेलुकाको गास जुटाउन पनि उस्तै मुस्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता सुविधाबाट उनीहरू वञ्चित छन् । शिविरकी हरिकला विकले चाडपर्व आउँदा झनै समस्या हुनेगरेको बताइन् । नौ वर्षदेखि पुराना खुइलिएका पालको शरणमा बस्नुपरेको भन्दै उनले बिहान बेलुकीको छाक टार्नका लागि कामको खोजीमा भौतारिनु परेको गुनासो गरिन ।

नयाँ लत्ताकपडा किन्न, मिठोमसिनो खान सक्नेअवस्था नभएपछि यो बस्तीमा दसैँको उल्लास पनि छैन । दसैँ आउन ३÷४ दिन बाँकी रहदा पनि सबै आ–आफ्नो रोजीरोटीका काममा व्यस्त छन् । उनीहरूले गिट्टीबालुवा र दाउरा बिक्री गरेर दैनिकी चलाउँदै आएका छन् । अहिले गिट्टीबालुवा बिक्री वितरण रोकिएकाले थप समस्या परेको छ । साँझ–बिहान छाक टार्न मुस्किल हुने गरेको छ । यो वस्तीमा दसैँले खुसी ल्याएको छैन ।
आफूहरुको पुनरस्थापनामा राज्य एक रती पनि ध्यान नदिएको विष्णा नेपालीले दुखेसो पोखिन ।

चुनावका बेला भोट माग्न आएका नेताले व्यवस्थापन गर्छौ भनेर आवश्वासन दिएको भएपनि सडकको छेउमा कष्टकर जीवन जिउनु पर्दा सरकारप्रति विश्वास नै नरहेको उनले गुनासो गरिन । आश्वासन दिनमा अगाडि रहेको कर्णाली प्रदेश सरकारको नजर यो बस्तीमा नपुगेको भने होइन तर प्रदेश सरकारको जवाफ जहिल्यै एउटै हुन्छ हामी पीडितको उचित व्यवस्थापनमा लागेका छौं । यो झूटो आश्वासन आजभोलि यस बस्तीका नागरिकले विश्वास गर्नै छाडिसके ।

तपाईको प्रतिक्रिया