काठमाडौं | दसैँ खुसी र उमंगको चाड । दसैँमा रमाइलो गर्ने, खाने पिउने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ । विशेष रूपमा मासुको परिकार कोचेर खाइन्छ । मासुसँगै मदिरा, फलफूल, हरियो सागपातको पनि प्रयोग गरिन्छ । अनि पर्व सकिएसँगै स्वास्थ्यमा समस्या देखिन थाल्छ ।

पहिले पैसा हुँदैनथ्यो । मीठो परिकार खान दसैँतिहार नै आउनुपर्थ्याे । तर, अहिले समय बदलिएको छ । हातहातमा पैसा छ । त्यसैले अघिपछि पनि मीठो परिकार खान सकिन्छ । दसैँ तिहार कुर्नु पर्दैन । त्यसैले खानपानमा ध्यान दिएर रमाइलोसँग दसैँ मनाउनुपर्छ ।

खानपानमा यी कुरामा ध्यान दिइनुपर्छ
दसैँमा अधिकांशको भान्छामा मासुको परिकार पाक्छ । मसला कम हालेको मासु खानुपर्छ । मासुमा चिल्लो धेरै हुने भएकाले थोरै खानुपर्छ ।
मासुसँगै हरियो तरकारी खानुपर्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । मासुलाई एकैपटक पकाएर फ्रिजमा राखेर निकाल्दै तताउँदै खानु हुँदैन । यसरी खाँदा पोषण पनि हुँदैन ।
नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक मात्रामा पकाएर खानुपर्छ । पकाएको बासी मासुको प्रयोग गर्नु हुँदैन । पेट ढुस्स भयो भने छाक छोड्नुपर्छ । कोचेर मासु खानु हुँदैन ।
दिनको तीनपटक मासु, तीनपटक मदिरा, जंक फुड खानु हुँदैन । मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता रोग लाग्न सक्छन् । मासु र मदिरा एकैपटक सेवन नगर्ने । थोरै मदिरा सेवन गर्दा फाइदा हुन्छ भन्ने यो सत्य होइन । यो विष नै हो । यसले कलेजो बिगार्छ ।
नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक मात्रामा पकाएर खानुपर्छ । पकाएको बासी मासुको प्रयोग गर्नु हुँदैन । पेट ढुस्स भयो भने छाक छोड्नुपर्छ । कोचेर मासु खानु हुँदैन ।

मोटोपन भएकाहरूले कम मात्रामा मासु खानुपर्छ । मोटोपन बढ्यो भने झन् रोग बढ्दै जान्छ । पातलो शरीर भएकाले अपच हुनेगरी खानु हुँदैन । त्यसैले सावधानी अपनाएर खानुपर्छ । चाडबाडका बेला मात्रै हाेइन, अरू बेला पनि खाँदा यी कुरामा ध्यान दिनुभयाे भने तपाईं खाएकै कारण बिरामी हुनुहुने छैन ।
बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिने
दसैँमा बालबालिकाले जंक फुड र कोल्ड ड्रिङ्क्सको धेरै प्रयोग गर्ने गरेका छन् । बुबाआमाले बालबालिकाको विशेष ध्यान दिनुपर्छ । जंक फुडमा नुन धेरै मिसिएको हुन्छ ।
त्यस्तै, कोल्ड ड्रिङ्क्समा चिनी धेरै मिसिएको हुन्छ । यसले मुटु र मिर्गौलालाई असर गर्छ । बालबालिकामा पेट दुख्ने, बान्ता आउने समस्या हुन्छ । त्यसैले अभिभावकले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्छ ।
भेजिटेरियनले के खाने ?
बजारमा राम्रो देखेर मिठाई खाने चलन छ । बजारमा एउटै तेलमा बारम्बार पकाएको परिकार हुन्छ । डल्ला र वनस्पतिको घिउको प्रयोग गरिएको हुन्छ ।
यसले मुटुमा असर गर्छ । त्यसैले घरमै बनाएको हलुवा, सेल, खीर खानुपर्छ । त्यस्तै हरियो तरकारी, भटमास, चिजको प्रयोग गर्नुपर्छ ।
रोगबाट जोगिन के गर्ने ?
- योगा गर्ने
- ध्यान गर्ने
- एक्सरसाइज गर्ने
- बिहान आधा/एक घण्टा हिँड्ने
- घाममा बस्ने ।
समग्रमा जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ । सानो जिब्रोलाई नियन्त्रण गर्ने हो भने पूरै शरीर स्वस्थ रहन्छ । यसले जीवनलाई खुसी र सुखी बनाउँछ । (शिलापत्र)

नेपाल कर्म । ५ कार्तिक २०८०, आईतवार ०७:५४