वीरेन्द्रनगरमा एक साताको अवधिमा २४ हजार नागरिक भित्रदा, २६ हजार बाहिरिए

सुर्खेत । देशैभर बडा दसैँको रौनक चलिरहेको छ । अध्ययन, रोजगारी तथा अन्य पेशा व्यवसाय गर्न घरपरिवारसँग छुटिएकाहरु घर पुगि सकेका छन् भने, कोही यात्राकै क्रममा छन् । दसैँ मनाउनका लागि एक साताको अवधिमा २६ हजार नागरिक कर्णालीको राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका छन् । घटस्थापनादेखि फुलपातीका दिनसम्म वीरेन्द्रनगरबाट सार्वजनिक सवारी प्रयोग गरेर बाहिरिने नागरिकको संख्या २६ हजार चार सय २० रहेको छ, भने प्रदेश भित्रनेको संख्या २४ हजार चार सय रहेको छ ।



वीरेन्द्रनगर कर्णालीका दशै जिल्लाको आर्थिक, राजनैतीक, प्रशासनिक र शैक्षिक हब भएकाले पनि ठुलो संख्यामा बाह्य जिल्लाका नागरिकहरु बस्दै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको यो तथ्यांक सार्वजनिक सवारी साधन प्रयोग गर्नेहरुको मात्र हो । पारिवारिक रिजर्व, निजी तथा सरकारी सवारी साधन प्रयोग गर्नेहरुको तथ्यांक भने प्रहरीसँग छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले घटस्थापनादेखि नागरिक बाहिरिने क्रम बढेकोमा फुलपातीका दिनबाट वीरेन्द्रनगर छाड्नेहरूको संख्यामा कमी आएको बताए ।

‘हिजो–अस्तिसम्म निकै प्रेसर नै थियो, आजदेखि विस्तारै कम भइरहेको छ,’ बुढाथोकीले भने,‘ दसैँ मनाउन जानेहरू अधिकांश गाउँ फर्किसकेको देखिन्छ ।’ मान्छेहरू गाउँ जान थालेपछि राजधानी वीरेन्द्रनगर भने सुनसान बनेको छ । टिकाको दिन आउन केही दिन रहेकाले प्रदेश बाहिरिने नागरिको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया