बडा दसैँ : मिस यु लिङ्गे पिङ

सुर्जे कुमारी | गाउँ रित्तिइसकेछ । ७/८ वर्षअघि गाउँ नै पिच्छे दुईवटा बाबियो पिङ देखिन्थे । गाउँका दाजुभाइहरू घटस्थापनापछि समूह बनाएर बाबियो लिन उकालो लाग्थे । काेही खुकुरी भिरेर बाँसघारीतिर पस्थे । लट्ठाराेकाे पिङ टीकाको दुई दिनअघि नै तयार हुन्थ्यो ।



यसपालि म पनि फूलपातीकाे अघिल्लाे दिन गाउँ आइपुगेँ । तर, बाबियो लिन जाने सुरसार कसैले गरिरहेको छैन । खुकुरी भिरेर बाँसघारीतिर जाने तयारी पनि कसैले गरिरहेकाे छैन । गरोस् पनि कसले ? हिजोका ती दाजुभाइ सबै विदेशमा छन् । १२ पास गरेका भाइबहिनीमध्ये धेरैजसो पढ्न भन्दै परदेशिइहाले । गाउँका ती ऊर्जावान् जवान कोही बाँकी रहेनछन् । अन्य सामाजिक र सामूहिक कार्यका लागि पनि गाउँमा तन्नेरीहरू अत्यन्तै कम छन् । मलाई लाग्छ, यो मेरो गाउँको मात्र समस्या होइन, नेपालका धेरै गाउँको नियती हो ।

यसपालि पिङ खेल्न करिब ४ किलोमिटरको दूरीमा रहेको त्रिवेणी चोक जानुपर्ने भयो । रातो टीकाले निधार ढाकेर, कलिला, हरिया जमराले कान छोपेर पालैपालो पिङ खेलेको सम्झना आइरहेको छ । गाउँमा दुइटा पिङ हुँदा पनि त्यो बेला पालो कुर्नुपर्थ्यो । तर, अहिले चार गाउँमध्ये एकमा मात्र पिङ छ । मलाई लाग्दैन, यसपालि पिङ खेल्न पालो कुर्नुपर्छ ।

विदेशिनु युवापुस्ताको बाध्यता नै हो । यसको तत्कालै समाधान पनि केही देखिँदैन । तर, राज्यले ढिलै भए पनि युवाको विदेश पलायन रोक्न केही गरेजस्तो लाग्दैन । गाउँमा अहिले बुढाबुढी र केटाकेटी मात्रै देखिन थालेका छन् ।

पिङ घट्नु, केवल पिङ घट्नु होइन । पिङ घट्नु भनेको गाउँमा युवा घट्नु हो । युवा घट्नु भनेको घरपरिवारको सदस्य घट्नु हो । परिवारको सदस्य घट्नु भनेको दसैँको रौनक घट्नु हो । परिवार, समाजमा दसैँको रौनक घट्नु भनेको यसको महत्त्व नै घट्नु हो ।

अबको १० वर्षपछि गाउँ अशक्तहरूले भरिनेछ । नेताका लागि उनीहरूले भोटसम्म हालिदेलान्, त्यसबाहेक केही गर्न सक्ने छैनन् । आफ्ना अनुभव बाँड्न उनीहरूका साथमा जवान छोराछोरी हुने छैनन् । उनीहरूले केही पैसा पाऊलान् तर चाहिएको सहारा छोराछोरीको पाउने छैनन् । पिङ घटेको देखेर मलाई यस्तै लागिरहेको छ ।

वर्षौंअघि विदेश गएका गाउँले दाजुभाइ दसैँमा फाट्टफुट्ट आइरहेका छन् । यसअघिका दसैँ, तिहार निरश बनेका तिनका आफन्त खुसीले भावविभोर भइरहँदा भर्खरै, पोहोर साल विदेशिएका छोराछोरी सम्झेर अन्य परिवार निरश बनेका छन् । म गाउँ आएर लिङ्गे पिङलाई मिस गरिरहेकी छु । बाहिर वा विदेशमा भएका मेरा गाउँका दाजुभाइ, दिदीबहिनीले त गाउँलाई नै मिस गरिरहेका होलान् ।

मनमनै प्रश्न उठिरहेको छ, नेताहरू पनि टीका लाउन गाउँ निस्कँदा हुन्, के उनीहरूले गाउँमा बाबियोको पिङ घटेको देख्दैनन् ? दसैँसँगै बढ्दै गरेको खल्लोपन महसुस गर्दैनन् ?

पिङ घट्नु, केवल पिङ घट्नु होइन । पिङ घट्नु भनेको गाउँमा युवा घट्नु हो । युवा घट्नु भनेको घरपरिवारको सदस्य घट्नु हो । परिवारको सदस्य घट्नु भनेको दसैँको रौनक घट्नु हो । परिवार, समाजमा दसैँको रौनक घट्नु भनेको यसको महत्त्व नै घट्नु हो । यी सबै घट्नु भनेको देशमा मौलिकता, सुख र समृद्धि घट्नु हो । रित्तिँदो गाउँबाट सबैलाई दसैंको शुभकामना ।

तपाईको प्रतिक्रिया